सोलुखुम्बुको लुम्सामा जर्मन टोलीलाई भव्य स्वागत, शिक्षा, स्वास्थ्य र धार्मिक क्षेत्रलाई १२ लाख बढी सहयोग।

- बैशाख १८, २०८३ १३:२५ मा प्रकाशित


सोलुखुम्बु, १८ वैशाख ।
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० टाप्टीङस्थित लुम्सामा जर्मन नागरिकहरूको एक टोलीलाई भव्य स्वागत गरिएको छ । बिहीबार श्री चम्पादेवी आधारभूत विद्यालयमा आयोजित विशेष समारोहका बीच जर्मन नागरिक फ्रान्क मुट्जनेर (Frank Meutzner) र उनको टोलीलाई स्थानीयवासीले स्वागत गरेका हुन् ।
समाजसेवी एवं ‘बोस एड्भेन्चर’ (Boss Adventure) का प्रबन्ध निर्देशक मिङमार शेर्पाको विशेष पहलमा सो टोली टाप्टीङ पुगेको हो । पाहुनाहरूलाई जुके, दिमिल र लुम्साका स्थानीय बासिन्दाहरूले आफ्नो परम्परागत सांस्कृतिक झाँकी र बाजागाजासहित भव्य स्वागत गरेका थिए ।
सोही अवसरमा मिङमार शेर्पाकै समन्वयमा जर्मन टोलीले स्थानीय विद्यालय, गुम्बा र स्वास्थ्य केन्द्रको सुदृढीकरणका लागि कुल १२ लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । प्राप्त जानकारी अनुसार, श्री दिमिल आधारभूत विद्यालयलाई ३ लाख ४६ हजार रुपैयाँ र श्री चम्पादेवी आधारभूत विद्यालयलाई १ लाख ७३ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ ।
त्यस्तै, धार्मिक क्षेत्रतर्फ उर्गेन ग्याल्छेन साम्तेन छोलिङ गुम्बा (लुम्सा) लाई ५ लाख १९ हजार रुपैयाँ र स्वास्थ्य क्षेत्रतर्फ लुम्सा आधारभूत स्वास्थ्य केन्द्रलाई १ लाख ७३ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको छ ।
कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिका–१० का वडा प्रतिनिधिहरू, स्थानीय बुद्धिजीवी, समाजसेवी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । स्वागतका क्रममा स्थानीय स्तरमा प्रचलित धार्मिक तथा साम्प्रदायिक एकता झल्कने विभिन्न साङ्गीतिक एवं सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको थियो ।
विदेशी पाहुनाहरूले गाउँको आधारभूत आवश्यकतासँग जोडिएका शिक्षा, स्वास्थ्य र धार्मिक क्षेत्रमा पुर्‍याएको यो नि:स्वार्थ सहयोगप्रति स्थानीय बासिन्दाहरूले उच्च सम्मान प्रकट गर्दै खुसी व्यक्त गरेका छन् । उनीहरूले आगामी दिनहरूमा पनि यस्तै सहकार्य र आत्मीयताले निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन् ।

Comments

सम्बन्धित खवर