टाप्टिङमा MIT पर्यटन–पर्यावरण तालिम, ७ दिने कुक तालिम तथा खेलाडी सम्मान कार्यक्रम एकैसाथ सम्पन्न

- माघ १४, २०८२ २१:०९ मा प्रकाशित


सोलुखुम्बु, १३ माघ।
सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० टाप्टिङमा पर्यटन, सीप विकास तथा खेलकुद क्षेत्रसँग सम्बन्धित तीनवटा महत्वपूर्ण कार्यक्रम आज एकैसाथ सम्पन्न भएका छन्।
वडा नं. १० टाप्टिङ र KEEP नेपाल, काठमाडौँको संयुक्त आयोजनामा सञ्चालन गरिएको तीन दिने पर्यटन तथा वातावरण संरक्षणसम्बन्धी न्यूनतम प्रभाव यात्रा (Minimal Impact Travel–MIT) तालिम आज औपचारिक रूपमा समापन गरिएको हो। तालिममा पर्यटन गतिविधिका क्रममा वातावरणमा पर्ने नकारात्मक प्रभाव न्यूनीकरण, फोहर तथा प्लास्टिक व्यवस्थापन, स्थानीय स्रोतसाधनको संरक्षण र पर्यटकसँगको व्यवहारजस्ता विषयमा सहजीकरण गरिएको थियो। उक्त तालिममा प्रशिक्षक अमित राज खड्का र रुपा पाण्डेले प्रशिक्षण प्रदान गर्नुभएको थियो। कार्यक्रममा KEEP नेपाल, काठमाडौँका डाइरेक्टर तारादत्त जोशीको उपस्थिति रहेको थियो। तालिममा वडा भित्रका युवा, स्थानीय बासिन्दा तथा पर्यटनसँग आबद्ध व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
यसै दिन, KEEP नेपालको सहकार्यमा सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० टाडपानीमा सञ्चालन गरिएको सात दिने कुक तालिम पनि औपचारिक रूपमा समापन गरिएको छ। उक्त तालिममा सेफ महेश कुमार सुनुवारले प्रशिक्षण प्रदान गर्नुभएको थियो। तालिममा स्थानीय स्तरमा उत्पादन भएका अर्गानिक तथा लोकल सामग्री प्रयोग गरी विभिन्न परिकार तयार गर्ने व्यावहारिक सीप प्रदान गरिएको थियो। तालिम समापनका अवसरमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ।
त्यसैगरी, वडा नं. १० बाट विभिन्न जिल्ला तथा स्थानमा आयोजित खेलकुद प्रतियोगितामा सहभागी भई उत्कृष्ट नतिजा हासिल गर्न सफल खेलाडीहरूलाई वडा कार्यालयले प्रमाणपत्र प्रदान गरी सम्मान गरेको छ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष होमबहादुर मगरले सीप विकास, पर्यटन प्रवर्द्धन तथा खेलकुद क्षेत्रको सशक्तिकरणले स्थानीय युवालाई आत्मनिर्भर बनाउँदै वातावरण संरक्षण र दिगो विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।







Comments

सम्बन्धित खवर