“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”

- पुष ७, २०८२ ०८:०८ मा प्रकाशित


हिमालको काखमा जन्मिएको हाम्रो गीत,
नदीको स्वरमा बगेको सभ्यताको रीत ।
वनको छायाँमा हुर्किएको संस्कार,
माटोको सुवासले बनेको हाम्रो पहिचानको सार ।

हामीमा जहाँ पहाड छन्, त्यहाँ श्रमको कथा छ,
जहाँ नदी छन्, त्यहाँ जीवनको व्यथा छ ।
मौसमसँगै फेरिन्छ भेषभुषा र भाषा,
प्रकृतिले नै लेख्छ संस्कृतिको परिभाषा ।

कुनै पूजापर्व, कुनै जात्रा, प्रकृतिसँग जोडिए,

तुलसीको मठ, पीपलको छहारी, आस्थामा ओढिए ।

ढुङ्गा माटोले सिकायो धैर्य र साहस,
वनजङ्गलले दियो लोककला र विश्वास ।
पर्व र उत्सव, नृत्य र भाका,
सबैमा मिसिएको छ वातावरणको झल्का ।

जब झरी पर्छ, खेत रोपिन्छ, रोपाईको गीत गाउँछौँ,

हामी प्रकृतिलाई नै जीवनको स्रोत मान्छौँ ।

तर आज जब रूख ढल्छ मौन पीडामा,
नदी रुन्छ प्रदूषणको चोट खाँदा ।
हराउँदै छन् पुर्ख्यौली सीप र ज्ञान,
फिक्का बन्दैछ संस्कृतिको पहिचान ।

पर्यायवरण बिग्रँदा संस्कृति पनि थाक्छ,
जरा काटिँदा रूख जस्तै समाज ढल्छ ।
संरक्षण बिना प्रवर्धनको अर्थ छैन,
प्रकृति बिना सभ्यताको अस्तित्व रहँदैन ।

रूख ढलेपछि हाम्रो गीत बाँकी रहँदैन,
नदी मरेपछि सभ्यता बाँच्नेछैन ।
पर्यावरण विनाश भनेको संस्कृतिको सुनियोजित हत्या हो ।

अब चुप लाग्ने समय सकियो,
अब सजावटका भाषण काफी भए ।

त्यसैले,

आउनुहोस्, आजै संकल्प गरौँ,
माटो, वन, पानी जोगाउने प्रण लिऔँ ।
संस्कृति बचाउनु भनेको जीवन बचाउनु हो,
पर्यावरण जोगाउनु भनेको भविष्य बचाउनु हो ।

संस्कृति र पर्यावरण, दुई होइनन् एक,
मानव सभ्यताको अटुट अभिन्न लेख ।
यी दुवै सुरक्षित भए मात्र
हाम्रो अस्तित्व रहन्छ ।

यो कविता मात्र होइन,

यो चेतावनी हो, सल्लाह हो, सुझाव हो ।
संस्कृति र पर्यावरण
हाम्रो पहिचान हुन्,
हाम्रो अस्तित्व हुन् ।

Comments

सम्बन्धित खवर