इशानेश्वर महादेव मन्दिरमा १७ लाखभन्दा बढी भेटी सङ्कलन
- फाल्गुन १८, २०८१ ०७:३६ मा प्रकाशित
लमजुङ, १८ गते । मध्यनेपाल नगरपालिका–७ करापुटारमा रहेको इशानेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वमा १७ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । मन्दिरमामा पूजाआज तथा दर्शन गर्न आएका भक्तजनहरुबाट यत्तिका रकम सङ्कलन भएको हो ।
इशानेश्वर महादेव मन्दिरमा शिवरात्रिका बेला हजारौं भक्तजनको भिड लागेको थियो । गण्डकी प्रदेशमै सबैभन्दा धेरै भक्तजनको भीड लाग्ने यस मन्दिरमा ठाडो बत्ती बाल्ने, बसेर बत्ती बाल्ने, व्रतबन्ध गराउने र अन्य स्वच्छिक दानबाट १७ लाख रुपियाँभन्दा बढि रकम सङ्कलन भएको इशानेश्वर मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष गुणराज घिमिरेले जानकारी दिनुभयो ।
मन्दिरमा ठाडो बत्ती बाल्नका लागि पाँचसय रुपियाँ र बसेर बत्ती बाल्नका लागि तीनसय रुपियाँ शुल्क तोकिएको थियो । यसवर्ष पाँचसय बढिले रातभर उभिएर ठाडो बत्ती बालेका थिए भने एकहजार सातसय जनाले बसेर बत्ती बालेका थिए । व्रतबन्धका लागि एक हजार रुपियाँ शुल्क राखिएको थियो । भक्तजनबाट रसिद काटिएको आधारमा सो रकम सङ्कलन भएको र अरु दक्षिणा तथा भेटी रकमको हिसाव गर्न बाँकी रहेकाले आम्दानी थप बढ्ने अध्यक्ष घिमिरेले बताउनुभयो ।
इशानेश्वर महादेवको दर्शन गरी पूजा अर्चना गर्दा सन्तान नहुनेलाई सन्तान प्राप्त हुने जनविश्वास रहेको छ । भक्तजनको सङ्ख्या अघिल्लो वर्षको तुलनामा यसवर्ष वृद्धि भएको करापुटार क्षेत्र विकास समितिले जनाएको छ । मन्दिरमा लमजुङसँगै तनहुँ, कास्की, गोरखा, धादिङ, चितवनदेखि काठमाडौंबाट पनि ठुलो सङ्ख्यामा भक्तजन आएका थिए ।
“मन्दिर दर्शन र पुजाआज गर्नका लागि गण्डकी प्रदेशका मन्त्रीहरु, सांसदहरु, विभिन्न जिल्लाका पालिकाका जनप्रतिनिधि, उच्चपदस्थ कर्मचारीहरु पनि आइपुग्नुभएको थियो”, घिमिरेले भन्नुभयो, “सर्वसाधारण भक्तजनहरुको त ठुलो घुइँचो थियो ।”
समितिले यसवर्ष महाशिवरात्रि पर्वको अवसरमा तीन दिनसम्म मेला आयोजना गरेको थियो । सो अवसरमा शिव महापुराण बाचन, लोकभजन खुला प्रतियोगिता, करापुटारे ठाडोभाका, वडास्तरिय खुला भलिबल प्रतियोगिता, ठेलो प्रतियोगिता, कृषि मेला, रक्तदान कार्यक्रम भएको समितिले जानकारी दिएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
पुष ७, २०८२ ०८:०८“संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध”
-
श्रावण ९, २०८२ १७:४१फ्लिप्ड क्लासरूम: परम्परागत शिक्षामा क्रान्तिकारी परिवर्तन
-
श्रावण ६, २०८२ १६:४६संघर्षका हत्केलाहरूमा लुकेको जीवन
लोकप्रिय
-
लोकप्रिय बैशाख २७, २०८३ १०:१४SEE २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा
-
लोकप्रिय बैशाख २२, २०८३ २२:१८सोलुदूधकुण्ड नगरपालिकाको ‘बोल्ड’ निर्णय: केन्द्रको बिदालाई पन्छाउँदै सेवा सुचारु राख्ने घोषणा।
-
लोकप्रिय बैशाख २१, २०८३ १६:५६सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।
-
लोकप्रिय बैशाख १८, २०८३ १८:१७बुद्ध पार्क निर्माणका लागि ढिकुरे युवा समूहद्वारा साढे दुई लाख आर्थिक सहयोग संकलन।














Comments