सोलुदुधकुण्ड-१० स्थित चम्पादेवी आधारभूत विद्यालयमा विशेष दिवा खाजा कार्यक्रम सुरु।

- बैशाख २१, २०८३ १६:५६ मा प्रकाशित


सोलुखुम्बु बैशाख २१
सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० स्थित चम्पादेवी आधारभूत विद्यालयमा आजदेखि विद्यार्थीहरूका लागि थप पोषणसहितको दिवा खाजा कार्यक्रमको शुभारम्भ गरिएको छ। नेपाल सरकार र वैदेशिक दाताहरूको संयुक्त लगानीमा विद्यार्थीहरूलाई विद्यालयमै तातो र पोसिलो खाजा खुवाउने अभियान सुरु भएको हो।
नेपाल सरकारले दिवा खाजा कार्यक्रम अन्तर्गत प्रति विद्यार्थी दैनिक २० रुपैयाँ उपलब्ध गराउँदै आएको छ। सोही रकममा समाजसेवीहरू आना दिदी, कारमेन र पिटरले प्रति विद्यार्थी दैनिक ३० रुपैयाँ थप सहयोग गर्ने भएपछि अब विद्यार्थीहरूले दैनिक ५० रुपैयाँ बराबरको खाजा पाउने निश्चित भएको छ।
विद्यार्थीहरूको स्वास्थ्य र शिक्षालाई ध्यानमा राख्दै व्यक्तिगत तवरबाट भएको यो ठूलो सहयोगले विद्यालयको शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। विद्यालयमै ताजा र सन्तुलित खाजाको व्यवस्था भएपछि बालबालिकाहरूको नियमित उपस्थिति बढ्ने र पोषणमा सुधार आउने विश्वास वडा कार्यालय तथा विद्यालय परिवारले लिएको छ।
आज आयोजित एक कार्यक्रमका बीच सहयोगी हातहरूप्रति आभार प्रकट गर्दै दिवा खाजा वितरण कार्यको सुरुवात गरिएको हो। यस पहलले स्थानीय अभिभावकहरूमा समेत उत्साह थपेको छ।

Comments

सम्बन्धित खवर