को बन्ला पर्यटन मन्त्री ?तत्कालै पदपूर्ति नहुने प्रम:सचिवालयको दाबी ।

- 2019 April 12 मा प्रकाशित

काठमाडौं । गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा परी रवीन्द्र अधिकारीको निधन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्रीविहीन छ ।  अधिकारीको निधन भएपछि रिक्त रहेको मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँ सम्हाल्दै आएको भए पनि तत्कालै मन्त्री नियुक्त हुने सम्भावना नरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

रिक्त रहेको मन्त्रालयको नेतृत्व गर्न पार्टीभित्र सम्भावित उमेदवारको चर्चा भए पनि तत्कालै पदपूर्ति हुने सम्भावना नरहेको प्रधानमन्त्री निकट स्रोतले बाह्रखरीसँग भन्यो । स्रोतका अनुसार बुधबारमात्रै प्रधानमन्त्रीको अध्यक्षतामा नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिको तेस्रो बैठक बसेको थियो ।

तत्कालै मन्त्री नियुक्त हुने सम्भावना भएको भए पर्यटनमन्त्रीकै अध्यक्षतामा बैठक बस्नेगरी पर धकेल्न सकिन्थ्यो ।  तत्कालै मन्त्री पूर्ति गर्ने प्रधानमन्त्रीको योजना नरहेकाले आफ्नै अध्यक्षतामा बैठक राखिएको स्रोतको दाबी छ । प्रधानमन्त्रीको जोड पार्टी एकता
सचिवालयका एक सदस्यले जानकारी दिएअनुसार प्रधानमन्त्रीको पछिल्लो जोड पार्टी एकता टुंग्याउनेमै छ । नेकपाका अध्यक्ष रहेका प्रधानमन्त्री ओली र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहालबीच गम्भीर गृहकार्य चलिरहेको छ ।

त्यसो त यसैबीचमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह असन्तुष्ट बनेको छ । नेपाल समूहसमेतलाई सहमतिमा लिएर एकीकरण टुंग्याउने मनशाय अध्यक्ष ओलीको छ । र, छुट्टाछुट्टै परामर्शसमेत गरिरहेका छन् । यसर्थ पनि तत्कालै मन्त्री नियुक्ति हेरफेर हुने सम्भावना नरहेको सचिवालयको दाबी छ ।

“क्याबिनेट सिस्टमअनुसार मन्त्री नियुक्ति, हेरफेर प्रधानमन्त्रीकै तजबिजको कुरा हो तर, प्रधानमन्त्रीज्यूको ध्यान मन्त्री नियुक्ति र हेरफेरभन्दा पनि पार्टी एकताको काम नै सक्नेमा केन्द्रित ।
स्रोतका अनुसार पार्टी एकताको काम टुंग्याए पनि असन्तुष्ट पक्षसमेतलाई मिलाएर मन्त्रालय हेरफेर र मन्त्री नियुक्तिको काम अघि बढाउने सोचमा प्रधानमन्त्री केपी शर्मा ओली छन् ।