हिन्दू राष्ट्रको माग गर्दै प्रदर्सनमा उत्रिएका प्रदर्सनकारी र प्रहरी बीच झडप

- 2019 April 8 मा प्रकाशित

काठमाडौं / सनातन धर्म सापेक्ष हिन्दू राष्ट्रको माग गर्दै प्रदर्शनमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच आज झडप भएको छ । झडपमा राप्रपा नेपालका अध्यक्ष तथा पूर्वगृहमन्त्री कमल थापासहितका नेताहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ। हिन्दू राष्ट्रको माग राख्दै राप्रपाले गरेको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी थापासहितका नेता पक्राउ परेको राप्रपा प्रवक्ता भुवन पाठकले बताएका छन्।

प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि राप्रपाका कार्यकर्ता र प्रहरीबीच रामशाह पथमा झडप हुँदा ३५ नेता तथा कार्यकर्ता घाइते भएका हुन् । रत्नपार्कदेखि प्रदर्शन सुरु गरी पद्मोदय मोडमा पुगेर कोणसभा गर्ने क्रममा राप्रपाका कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग झडप भएको थियो ।
घाईतेहरुको बागबजारस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था बुझ्न राप्रपाका अध्यक्ष कमल थापालगायत पार्टीका शीर्ष नेताहरु अस्पताल पुग्नुभएको राप्रपाले जनाएको छ ।