त्रिभुवन विमानस्थल: अन्तर्राष्ट्रिय धावनमार्ग पुनर्निर्माण गर्न तीन महिना दैनिक १० घण्टा बन्द हुने

- 2019 March 31 मा प्रकाशित

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल सोमवारदेखि दैनिक १० घण्टा बन्द हुने अधिकारीहरूले बताएका छन्।

धावनमार्गमा नयाँ कालोपत्र गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तीन महिनाका लागि राति बन्द हुने र उक्त समयका उडानलाई अन्य समयमा सारिने उनीहरूले जनाएका छन्।

उडानमा असर परे पनि विमानस्थल खुलेको समयमा सबै विमानले उडान र अवतरण गर्नेगरी तालिका मिलाइएको विमानस्थलका प्रमुख राजकुमार क्षेत्री बताउँछन्।

विमानस्थल तीन महिनासम्म राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द हुनेछ।

उक्त समयमा तीन हजार मिटर लामो धावनमार्ग पुनर्निर्माण गर्ने तालिका बनाइएको छ।

किन बन्द गर्नुपर्‍यो?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा बेलाबेला खाल्डाखुल्डी पर्ने र त्यसले गर्दा विमानहरूलाई उडान र अवतरण गर्न समेत समस्या हुँदै आएको थियो।

त्यस्तो बेला धावनमार्गलाई टालटुल गरेर फेरि उडान नियमित गर्ने गरिएको थियो।

तर समस्या बढ्दै गएपछि एप्रिल १ देखि धावनमार्गको पुरानो कालोपत्रलाई फालेर नयाँ कालोपत्र गरिने बताइएको छ। र त्यसका लागि रातिको समय रोजिएको छ।

त्यसले उडानको नियमित तालिका बिग्रिए पनि नयाँ तालिका बनाएर उडानहरूलाई व्यवस्थापन गरिएको विमानस्थलका प्रमुख क्षेत्री बताउँछन्।

कस्तो प्रभाव पर्ला?

राति धावनमार्ग बन्द गर्दा उडानहरूमा न्यून प्रभाव पर्ने विमानस्थलको दाबी छ।

क्षेत्री भन्छन्, “यसबाट १० प्रतिशत पनि उडान प्रभावित नपर्ने देखिएको छ।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

उनका अनुसार विमान कम्पनीहरूसँग पटकपटक छलफल गरेर उनीहरूको र विमानस्थलको तालिका हेरेर नयाँ तालिका बनाइएको छ।

“सकेसम्म गाह्रो नहोस् भनेर विमान कम्पनीहरूले भनेकै समयमा मिलाउने काम गरेका छौँ।”

बिहान हुने उडान र अवतरणलाई ८ बजेपछि सारिएको र राति १० बजे पछि हुने उडान र अवतरणलाई त्यसअघि सारिएको उनको भनाइ छ।

पार्किङ र ट्याक्सी मार्गमा कुनै समस्या नआए नयाँ तालिकाअनुसार तोकिएकै समयमा उडान हुने बताइएको छ।

पछिल्ला दिनमा एअर एशियाले उडान बन्द गरेको, एअर अरबिया र फ्लाइट दुबईले एक-एकवटा उडान घटाएकाले पनि व्यवस्थापनमा सहज हुने अपेक्षा अधिकारीहरूको छ।

आन्तरिक उडान के हुन्छ?

धावनमार्गको काम नसकिउन्जेलसम्म आन्तरिक विमानस्थलमा पनि केही प्रभाव पर्ने देखिएको छ।

बिहान र दिउँसो अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउन आन्तरिक उडानमा केही परिवर्तन गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

त्यसैले धेरै उडान हुने लुक्लाका लागि बिहानका उडानहरू रामेछापबाट गर्ने व्यवस्था मिलाइएको छ। त्यहीअनुसार तारा, यति, गोमा र सीता एअरका उडान पनि हुनेछन्।

बुद्ध र श्री एयरका हिमाली उडानहरू भने प्रभावित हुने बताइएको छ।

यो परिवर्तनका कारण विमान कम्पनीहरू भने “पर्ख र हेर” मनस्थितिमा देखिन्छन्।

समाचार स्रोत :- बीबीसी नेपाली