समायोजनमा चित्त नबुझेर कर्मचारी पुगे मन्त्रालय, ८० हजारको समायोजन

- 2019 March 26 मा प्रकाशित

कर्मचारी समायोजनका क्रममा आफू अनुकूलको कार्यालयमा समायोजन नभएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गुनासो गर्ने कर्मचारीको भीड लागेको छ।

आइतवारसम्म सात हजार एकसय जना कर्मचारीले सफ्टवेयर मार्फत गरेको समायोजनमा चित्त नबुझेपछि अन्य कार्यालयमा समायोजन गरियोस् भनी मन्त्रालयमा आफ्ना गुनासोको निवेदन दर्ता गराएका हुन्।

गुनासो गर्ने कर्मचारीले आफूले रोजेको भन्दा अन्यत्रै कार्यालयमा समायोजन भएको, कर्मचारी समायोजन ऐनले पति र पत्नी दुबैजना कर्मचारी भए सम्भव भएसम्म एउटै कार्यालयमा समायोजन गर्ने भनी उल्लेख भए पनि सो अनुसारको समायोजन नभएको गुनासो गरिएको छ।

त्यसैगरी अपाङ्गता भएका र दृष्टिबिहीन कर्मचारीलाई समायोजन भएको ठाउँमा जान नसक्ने अवस्था भएको, स्वास्थ्यका कारणले समायोजन गरिएको कार्यालयमा समायोजन हुन नसक्ने अवस्था भएको, समायोजनको क्रममा आवेदन दिन छुटेको लगायतका गुनासो उल्लेख गरी मन्त्रालयमा निवेदन दिएको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका सहसचिव रूपनारायण भट्टराईले अहिले मन्त्रालयले गुनासो गर्ने कर्मचारीको आवेदन अध्ययन गर्नेक्रम जारी रहेकाले आवेदनको प्रकृति अनुसार सम्भव भएसम्म गुनासो सुनुवाइ गरिने छ भने।