काठमाडौ महानगरपालिकाले ल्यायो इटालिबाट रोड सफा गर्ने ब्रुमर

- 2019 March 26 मा प्रकाशित

। काठमाडौं महानगरपालिकाले इटालीबाट ल्याएको ५ वटा ब्रुमर मङ्गलबारबाट सञ्चालनमा आएका छन् । काठमाडौंमा एक कार्यक्रमका बीच महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले रिबन काटेर ५ वटै ब्रुमरको उद्घाटन गरेका छन् ।

महानगरपालिकाले ०७३ चैतमा ५ वटा ब्रुमर खरिद गर्ने बनाएको योजनाअनुसार ब्रुमर काठमाडौं ल्याइएको हो । ब्रुमरको ३ वर्षको अपरेटिङ खर्च ८१ लाख ९० हजार रुपैयाँ अनुमान गरिएको छ । 

डिजेलबाट चल्ने ‘डुलेभो सिक्स थाउजेन्ड’ मोडलको ब्रुमरमा अगाडि र बीचमा गरी ४ वटा ब्रसले ३६ सय मिलिमिटर चौडाइमा सफा गर्न सक्ने क्षमता रहेको छ । ५०० लिटर पानी र ४.६८ घनमिटर धुलो भण्डारण क्षमता रहेको ब्रुमरले एक घण्टामा २५ हजार स्क्वायर मिटर सफाई गर्नसक्ने बताइएको छ ।

ब्रुमरको अधिकतम गति प्रतिघण्टा १० किमि रहेको छ । महानगरपालिकाले ५ वटा ब्रुमरलाई ७ लाख ६२ हजार ४ सय ७० युरो तिरेर इटालीबाट खरिद गरेको हो ।

यसबाहेक स्पेयर्स पार्ट्सको भन्सार शुल्क २६ लाख १६ हजार ८ सय ६१ रुपैया र कलकत्तादेखि काठमाडौंसम्मको ढुवानी खर्च ३० लाख खर्च भएको छ । सरकारलाई बुझाउने करसहित काठमाडौं आइपुग्दा एउटा ब्रुमरको मूल्य २ करोड १५ लाख १७ हजार ४ सय ३६ रुपैया रहेको महानगरपालिका स्रोतले बताएको छ ।

बुधबारबाट ५ वटा रुटमा ब्रुमर सञ्चालनको तयारी रहेको महानगरपालिका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले बताए । श्रेष्ठका अनुसार टेकु–कलङ्की–सुन्धारा, टेकु–माइतीघर–कालीमाटी, टेकु–लाजिम्पाट–टेकु, टेकु–कमलपोखरी–पुतलीसडक र टेकु–सिंहदरबार–चाबहिल रुटमा ब्रुमर सञ्चालन गरिने छ ।

ब्रुमर उद्घाटन कार्यक्रममा मेयर शाक्यले भने, “ब्रुमर ल्याएरमात्र काठमाडौंका धुलो सफा हुन्छ भन्ने होइन । पहिला सडकमा रहेको खाल्डा पुर्न र भत्केका सडक मर्मत गर्न सबै जिम्मेवार निकायको अग्रसरता हामीलाई आवश्यक छ ।”

कार्यक्रममा उपमेयर हरिप्रभा खड्गीले काठमाडौंको फोहोर र धुलो हटाउनका लागि यहाँका घरबेटीहरु सचेत र जिम्मेवार बन्नुपर्ने बताइन् । 

सडकको अवस्था जीर्ण भएको अहिलेको अवस्थामा काठमाडौंमा ब्रुमर सञ्चालन गरेर धुलोमुक्त सहर बनाउन चुनौती रहेको पूर्वाधारविद्हरु बताउँछन् । “निर्माण सामग्री जथाभावी राख्दा र विस्तार गर्न भनेर त्यसै छोडिएका हिलाम्मे सडक पहिला कालोपत्रे गर्नुपर्छ,” पूर्वाधारविद् डा. सूर्यराज आचार्य भन्छन्, “सडक कालोपत्रे नगरी बु्रमर चलाएर मात्रै काठमाडौंका सडकको धुलो हटाएर सहरलाई धुलोमुक्त बनाउन सकिँदैन ।

स्रोत :-१२खरि