मुलुकी संहिता संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित

- 2019 March 24 मा प्रकाशित

प्रतिनिधिसभाले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’लाई पारित गरेको छ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदन सहितको विधेयक माथि छलफल गरी संशोधनसहित बहुमतले पारित गरेको हो। कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहित ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव गरेका थिए।

प्रतिवेदनसहितको विधेयक माथिको छलफलमा सहभागी हुदै सांसद प्रेम सुवाल, पुष्पा भुसाल (गौतम), शेरबहादुर तामाङ, हितबहादुर तामाङ, कृष्णभक्त पोखरेलले महत्वपूर्ण विधेयक भएकाले त्यसबारे बृहत रूपमा सरोकारवालाहरूसँग छलफल गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै अझै पनि विधेयकमाथि कयौं संशोधन आवश्यक रहेको बताए। सांसद भुसालले विधवा महिलाले अर्को बिहे गरेमा सम्पत्ति फिर्ता गर्नुपर्ने लगायत विधेयकमा भएका प्रावधान अझै पनि संशोधन गर्न आवश्यक रहेको धारणा राखेकी थिइन।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले विषयगत आधारमा संसोधन गर्नुपर्ने आवश्यकता देखिएमा भविष्यमा संशोधन गर्दै लैजान सकिने बताए। उनले विधवा महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने र डाक्टरको लापरवाहीका कारण बिरामीको मृत्यु भएको वा नभएको भन्ने विषयमा छानबिन गर्न गठन गरिने समितिका सदस्यको क्षमता र योग्यताका बारेमा सांसदहरूले गराएको ध्यानाकर्षणलाई आगामी दिनमा महत्व दिइने प्रतिवद्धता जनाए