पूर्वमन्त्रीलाई हराएर पहिलो संसद यात्रामै रक्षामन्त्री बनेका मानवीर ‘पूर्व’ फकाउने ओलीको रणनीति !

- 2024 July 15 मा प्रकाशित

२०७९ मंसिर ४ गते प्रतिनिधि सभाको चुनाव हुँदैगर्दा सोलुखुम्बुबाट जित्छु भन्नेमा ‘कन्फिडेन्ट’ थिएनन् मानवीर राई । त्यसको कारण थियो- जिल्लामा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी लगायतका दलहरूको गठबन्धन ।

त्यसबेला यो पङ्क्तिकारको कानमा के परेको थियो भने कि मानवीर चुनाव लड्न मानेका पनि थिएनन् तर, जिल्लाका अरु नेताहरूले ‘तपाईं नै हो हाम्रो नेता’ भनेपछि उनी उम्मेदवार बन्न तयार भएका थिए । हुनसक्छ, पाँच दल एकातिर भएको देखेर उनलाई जितिँदैन भन्ने लागेको थियो होला । र, त्यो स्वाभाविक नै पनि थियो ।

हुन पनि पाँच दलको तर्फबाट उम्मेदवार थिए, पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका ‘हेबीवेट’ नेता बलबहादुर केसी । त्यसैले चुनाव सकिँदासम्म धेरैले प्रश्न गरेका थिए कि मानवीरले बलबहादुरको सामना गर्न सक्लान् त ?

तर, जब निर्वाचन-नतिजा सार्वजनिक भयो । मानवीर बलबहादुर भन्दा दुई हजार ७७९ मतान्तरले अघि देखिए । जिते । र, जिल्लाको प्रतिनिधित्व गर्दै सङ्घीय राजधानी काठमाडौं छिरे ।
काठमाडौं छिरेको डेढ वर्षपछि उनी मन्त्री बने, रक्षामन्त्री । त्यसो त संसद्‌मा उनले जिल्लाका समस्याहरू उठाइ नै रहन्थे । समस्या समाधान हुनु र नहुनु मुलुकको सिङ्गो संयन्त्रसँग पनि जोडिने कुरा हो । जे भएपनि उनले जिल्लाका समस्याहरूलाई संसद्‌सम्म भने ल्याइ नै रहन्थे ।
अझ रोचकचाहिँ के भने सोलुखुम्बु जिल्लाबाट सङ्घीय संसद्‌‌मा एमालेले पहिलोपटक प्रतिनिधित्व गरेको हो । मानवीर सोलुखुम्बुबाट एमालेका तर्फबाट निर्वाचित पहिलो सांसद हुन् । पहिलो पटक निर्वाचित हुँदा नै उनी रक्षाजस्तो महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगे ।
त्यसो त मानवीरको राजनीतिक आबद्धता छोटोचाहिँ छैन । भूमिगतकालदेखि नै वामपन्थी विद्यार्थी राजनीतिमा होमिएका मानवीर २०४८ सालमा पार्टी जिल्लाका उपसचिव बनेका थिए । पछि उनी पार्टी जिल्ला अध्यक्ष हुँदै अहिले केन्द्रीय सदस्य र जिल्ला इन्चार्ज हुन् ।
मन्त्रालयमा पदभार सम्हाल्दै नवनियुक्त रक्षामन्त्री मानवीर राई ।मन्त्रालयमा पदभार सम्हाल्दै नवनियुक्त रक्षामन्त्री मानवीर राई ।२०७४ सालको संसदीय निर्वाचनमा पनि पार्टीले उनलाई प्रतिनिधि सभाको टिकट दिएको थियो । तर, वाम गठबन्धन भएको र भागबन्डाअनुसार सोलुखुम्बु माओवादी केन्द्रको भागमा परेपछि उनी उम्मेदवार बन्न पाएनन् । त्यसबेला सांसद हेमकुमार राई ‘सुरवीर’ सांसद बने । हेमकुमार राई ‘सुरवीर’ लाई मानवीरले जिताउन सख्त प्रयास गरेका थिए ।
यो सत्य हो कि नेपालको संसदीय इतिहासमा एमालेको प्रतिनिधित्व गर्दै मानवीरले पहिलोपटक हिमाली जिल्ला सोलुखुम्बुबाट पार्टीको झण्डा फहराए ।
जसै मानवीर इमान्दार र स्वच्छ छवि बनाएका नेता हुन् । यो पङ्क्तिकार पनि सोलुखुम्बुकै हुनुको नाताले मानवीरलाई अलिक पहिल्यैदेखि चिन्छ । जिल्लामा बसेर लामो समय राजनीति गरेका उनले जिल्लामा इमान्दार र स्वच्छ नेताको छवि बनाएका छन् । आजसम्म उनलाई सानो पनि आरोप लागेको थाहा छैन ।
कोशी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका जिल्लाका एमाले नेता उत्तमकुमार बस्नेत मानवीर आफ्नो इमान्दारिताका कारण यहाँसम्म आइपुगेको बताउँछन् । “मानवीर राई भुइँबाट उठेको नेता हुनुहुन्छ । उहाँ इमान्दार, मृदुभाषी र अविचलित नेता हुनुहुन्छ,” बस्नेतले भने, “उहाँ तत्कालीन अत्याचार सहन नसकेर राजनीतिमा लाग्नुभएको थियो । उहाँ इमान्दारिताको कारण यहाँसम्म आइपुग्नुभयो ।”
‘पूर्व’ फकाउने ओलीको रणनीति !मानवीर मन्त्री बन्दा सोलुखुम्बुका बासिन्दा खुसी नै छन् । खुसी नहुनुपर्ने कारण पनि के नै छ र ! अहिले उनीहरूले सामाजिक सञ्जालमा मन्त्री मानवीरलाई बधाई र शुभकामना व्यक्त गरिरहेका छन्, शुभेच्छा दिइरहेका छन् ।
तर, कतिपयले भने मानवीर मन्त्री बन्नुलाई एमालेले ‘पूर्व’ फकाउन खोजेको रूपमा पनि अर्थ्याउन खोजेका छन् । पूर्व अर्थात् तत्कालीन प्रदेश नं. १ लाई कोशी भनिँदा सोलुखुम्बुसहित पूर्वका जिल्ला रिसाएका पक्कै हुन् ।
सोलुखुम्बुतिर पनि कोशी नामविरुद्धका आन्दोलन/प्रदर्शन भएकै हुन् । पहिचानसहितको सङ्घीयताको मर्मअनुरूप कोशी नाम पुन: नामाङ्कन हुनुपर्ने अभियान प्रशस्तै चलेका थिए जिल्लामा । ओलीले त्यसलाई मध्यनजर गर्दै त्यहाँबाट निर्वाचित मानवीरलाई मन्त्री बनाएको आकलन कतिपयको छ ।
उसो त मानवीर मन्त्री हुँदैछन् भन्ने सुइँको खासै थिएन, कमसेकम शपथ ग्रहण समारोहपूर्वसम्म । मानवीर रक्षामन्त्री बनेपछि धेरै पत्रकार साथीहरूले यो पङ्क्तिकारलाई पनि सोधे- मानवीर को हुन् ? मैले जाने/बुझेसम्म भनिदिएँ ।
जसै एमालेभित्र सचिवद्वय योगेशकुमार भट्टराई र छविलाल विश्वकर्मा, पूर्वमन्त्री पदम गिरी, प्रमुख सचेतक महेशकुमार बर्तौला, सचेतक सुनिता बराल, सेलिब्रिटी युवा सांसद सुहाङ नेम्वाङलगायत मन्त्री बन्ने चर्चा थियो । सुरुमा मानवीरको नाम पार्टीका तर्फबाट मन्त्री बन्ने नेताको सूचीमा थिएन । तर, अन्तिममा बाजी मारे ।
आफू नेतृत्वको मन्त्रिपरिषद्‌मा दलितको सङ्ख्या शून्य राखेर भएपनि ओलीले मानवीरलाई मन्त्री बनाए । एमालेका एक नेताले नेपालभ्युजसँग बताएअनुसार सोमबार साँझसम्म मन्त्रिपरिषद्‌मा दलितको पनि प्रतिनिधित्व होस् भन्नका खातिर रुपन्देही १ बाट निर्वाचित सांसद तथा पार्टी सचिव छविलाल विश्वकर्माको नाम मन्त्री बन्ने नेताको सूचीमा थियो । तर, उनलाई हटाएर भए पनि ओलीले मानवीरलाई अटाउन लगाए ।
ती नेताले भने, “भूगोल मिलाउँदा मानवीरजी पर्नुभयो, अरु कारण पनि छन् ।”
यसलाई पूर्वका नेताहरूले ओलीले ‘पहिचानवादीहरूलाई फकाउन मानवीरलाई मन्त्री बनाएको’ रूपमा अर्थ्याएको पाइन्छ । जे होस्, योचाहिँ सत्य हो कि पहिचानवादीहरूको नजरमा एमाले बदनाम छ । खुवालुङमा स्टीमर चलाउने एमाले अध्यक्ष ओलीको अभिव्यक्ति होस् वा तत्कालीन प्रदेश नं. १ को नाम कोशी प्रस्ताव; पहिचानवादीहरू एमाले र त्यसका अध्यक्ष ओलीसँग खुस छैनन् ।
जे भएपनि सोलुखुम्बुको प्रतिनिधित्व गर्ने सांसद मानवीर मन्त्री बन्नुलाई त्यहाँका बासिन्दाले सुखद रूपमा लिएका छन्, खुसी छन् उनीहरू । अब पूरै देशका बासिन्दालाई खुसी बनाउन मानवीरले कति सक्छन्, हेर्न बाँकी छ ।