काठमाडौँ । आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । अहिले पशुपतिनाथमा भक्तजन पूजा अर्चनाका लागि लाइन लागेका छन् । साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ ।पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको पूजाआजाका लागि घुइँचो लागेको जानकारी दिए । उनले भने, “साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । पशुपतिनाथ मन्दिरमा पनि भक्तजनको विशेष भीड लागेको छ ।” आजदेखि साउनभरिमा पशुपति क्षेत्रमा कोटीहोम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्रम राखिएकाले विगत वर्षमा भन्दा यस पटक भक्तजनको बढी भीड हुने विकास कोषले जनाएको छ ।