प्रधानमन्त्रीले नेपाली कंग्रेसलाई दिए कडा निर्देशन

- 2019 March 20 मा प्रकाशित

सोलुखुम्बु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द (विप्लव) समूहलाई प्रतिबन्ध लगाएकोमा रुवाबासी नगर्न भन्दै कडा निर्देशन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आग्रह गर्नुभएको छ ।

चन्द समूह मान्यताप्राप्त संस्था नभएकाले सरकारले नचिन्ने अनधिकृत समूह मात्रै भएको प्रधानमन्त्री ओलीको भनाइ छ । आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीमाझ बाेल्दै उहाँले बम पडकाउने, आतंक फैल्याउने लगायतका अपराधिक गतिविधि गरेकाले याे समूहलाई प्रतिबन्ध लगाउने निर्णय लिनुपरेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयाे, ‘यस्ता गतिविधिमा संलग्न समूहलाई प्रतिबन्ध लगाउँदा आफूहरु लोकतान्त्रिक पार्टी भन्नेहरुको रुवाबासी किन ?’

प्रधानमन्त्री ओलीले देशमा धम्क्याउने, लुटपाट गर्ने छुट कसैलाई नभएको पनि बताउनुभयो । उहाँले फरक प्रसंगमा मन्त्रीमण्डल हेरफेर गर्ने कुनै योजना नभएको पनि स्पष्ट पार्नुभयो ।

‘एउटा मन्त्रालय खाली छ । त्यसलाई पूर्णता दिने एउटा कुरा हो । तर मन्त्रीमण्डल हेरफेरको कुनै योजना छैन’, प्रधानमन्त्री ओलीको स्पष्टिकरण थियो ।