सोलुदुधकुण्ड नगरपालिकामा शव वाहन संचालन हुने

- 2023 August 10 मा प्रकाशित

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिकाले एउटा एम्बुलेन्सलाई जिल्लाभरकै लागि शव वहानको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । जिल्लामा शव वहान नहुँदा नागरिकले खेप्दै आएको सास्तीलाई मध्येनजर गर्दै आज बुधबार बसेको नगरकार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।

हाल नगरपालिका मातहतमा रहेका ४ वटा एम्बुलेन्स मध्ये एउटालाई शव वहानको रुपमा प्रयोगमा ल्याउने निर्णय गरिएको नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले जानकारी दिनुभयो । जसबाट जिल्लामा शव वहान नहुँदा ट्याक्टरमा शव बोक्नुपर्ने नागरिकको बाध्यता हट्ने उहाँको भनाई छ ।

बैठकले गत आर्थिक वर्षमा नगरपालिका, कार्यपालिका बैठक र भएका निर्णय कार्यान्वयनको अवस्थाबारे समेत समिक्षा गरेको छ । गत आर्थिक वर्षमा नगरकार्यपालिकाको बैठक ११ पटक बसेर १७२ वटा निर्णय गरिएको छ । ति मध्ये १६३ वटा निर्णय पूर्णरूपमा कार्यान्वयन छ भने ९ वटा निर्णयहरु कार्यान्वयनको क्रममा रहेको नगरप्रमुख शेर्पाले बताउनुभयो ।

पशु चौपायामा लाग्ने लम्पी स्किन रोग नियन्त्रणका लागि खोप र औषधीको थप ब्यबस्था गर्ने निर्णय पनि बैठकले गरेको छ । नगरको ११ वटै वडामा गरी ७ हजार १० वटा पशुलाई गोठ गोठमै पुगेर लम्पी स्किन महामारी विरुद्धको खोप लगाइएकोे जनाएको छ । महमारीबाट सोलुदुधकुण्डमा हाल सम्म ६०६ वटा संक्रमित छन् भने २२ पशुको मरेको नगरपालिकाको तथ्यांक छ ।