वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा जोर्डन सँग नेपाल पराजित

- 2024 February 29 मा प्रकाशित

वेस्ट एसियन फुटबल फेडेरेसन (वाफ) वुमन्स फुटबल प्रतियोगिताको फाइनलमा नेपाल पराजित भएको छ।


बिहीबार राति साउदी अरेबियामा भएको उपाधि भिडन्तमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा ५-३ गोलले पराजित हुँदा लगातार एघारौं फाइनलमा पनि उपाधि जित्न सकेन। नेपालले सन् २०१० यता मुख्य प्रतियोगितामा एघार पटक फाइनलमा स्थान बनाए पनि उपाधि भने जित्न सकेको छैन।
पेनाल्टीमा नेपालका लागि गीता राना, दीपा शाही र हिराकुमारी भुजेलले गोल गरेका थिए। तर चौथो पेनाल्टी हानेकी अमृती जैशीको प्रहारलाई जोर्डनकी गोलकिपरले विफल पारिन्।
जोर्डनले भने पाँचै पेनाल्टीमा गोल गर्न सफल भयो।
त्यसअघि निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएको थियो। खेलमा नेपालले सविता रानामगरको गोलबाट खेलको २९ मिनेटमा अग्रता लिएको थियो।
जोर्डनले ७४ मिनेटमा बराबरी गोल फर्कायो। ८९ मिनेटमा जोर्डनले अर्को गोल गर्दा खेलमा नेपाल २-१ ले पछि परेको थियो।
तर इन्जुरी समयमा नेपालले पेनाल्टी पायो। जोर्डनका खेलाडीले डिबक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा गीता रानाले गोल गरिन्।
खेलमा नेपाली मुख्य स्ट्राइकर सावित्रा भण्डारी साम्बा क्लबसँगको सम्झौताका कारण अनुपस्थित थिइन् भने प्लेमेकर प्रिति राई दोस्रो हाफमा घाइते हुँदै मैदान छाड्न बाध्य भएकी थिइन्।
नेपाललाई हराएसँगै छैटौ पटक उपाधि जितेको जोर्डन नेपालभन्दा बलियो टिम हो। जोर्डन फिफा महिला वरीयतामा ७४औं स्थानमा छ। नेपाल भने १०५औं स्थानमा छ।