दूधकोसी जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहण सुरु

- 2022 April 6 मा प्रकाशित

सोलुखुम्बु :  दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोसी आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुङ्गाको नौ हजार रोपनी र सोलुखुम्बुको ५०० रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको हो ।
खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने दूधकोसीस्थित रभुँवाघाटमा ६३५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको काम अघि बढ्दैछ ।  जलविद्युत् आयोजना सञ्चालनका लागि सरकारी जग्गाबाहेक करिब २० हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने अनुमान गरिएको आयोजनाका उपनिर्देशक सीताराम प्रखाछेँले जानकारी दिनुभयो । खोटाङको रावाबेँसी गाउँपालिकाका पाँच हजार ३०४ कित्ता, ऐसेलुखर्क गाउँपालिकाका ५२२ कित्ता र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिकाका दुई हजार ४०९ कित्ता जग्गा अधिग्रहणको तयारी छ ।
सोलुखुम्बुको जग्गा अधिग्रहणका लागि केही समयपछि जग्गा प्राप्तिसम्बन्धी सूचना आह्वान गरिनेछ । सम्बन्धित क्षेत्रका जिल्ला प्रशासन कार्यालयमार्फत जग्गा प्राप्तिको प्रक्रिया थालेसँगै प्राप्ति गरिने जग्गा रोक्का भएको र उक्त क्षेत्रमा कुनै पनि संरचना बनाउने वा थप्ने काममा रोक लगाइएको छ । 

©सोलु एफएम