ओलम्पिक खेल :तोकिएकै समयमा ओलम्पिक गर्ने जापानको तयारी

- 2020 March 17 मा प्रकाशित

काठमाडौं- कोरोना भाइरसको संक्रमण फैलँदै गए पनि जापानमा हुने भनिएको ओलम्पिकलाई असर नगर्ने गरी काम गरिएको जापानका ओलम्पिक प्रमुख कार्यकारी तोसिरो मुटोले जनाएका छन्।

आउँदो जुलाई २४ देखि ९ अगस्टसम्म हुने तय भएको ओलम्पिकलाई कोरोनाले असर गर्ने विश्व खेलकुदमा चलिरहेको बहसपछि ओलम्पिक प्रमुख कार्यकारी तोसिरोले असर नगर्ने गरी काम गरिएको बताएका हुन्। गएको शनिबार जापानका प्रधानमन्त्री सिन्जो आबेले पनि ओलम्पिक तोकिएकै समयमा सम्पन्न हुने बताएका थिए। 

ओलम्पिक छनोटका लागि हुुनुपर्ने खेलहरु प्रभावित भइरहँदा मंगलबार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले प्रतियोगिताबारे छलफल गर्न बैठक गरेको थियो। 

जापानमा १ हजार ४ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने त्यसैका कारण २८ जनाको ज्यान गएको छ। जापानमा ओलम्पिक टर्च र्‍याली फुकुसीमाबाट २६ मार्चमा सुरु हुने तालिका रहेको छ। 

ओलम्पिकमा लाखौँ दर्शकसँगै दुई सय भन्दा बढी देशका ११ हजार भन्दा बढी खेलाडीहरु सहभागी हुनेछन्।