कोरोना भाइरस : हल्लाकाे पछि नलाग्न गृह मन्त्रालयको आग्रह

- 2020 March 9 मा प्रकाशित

काठमाण्डौ  – कोरोना भाइरसका विषयमा फैलिरहेको अनावश्यक भ्रममा नपर्न सरकारले आग्रह गरेको छ । हिजो विज्ञप्ती निकालेर गृह मन्त्रालयले भाइरसको सङ्क्रमण नेपालमा अहिलेसम्म पुष्टि नभएकोले अनावश्यक हल्ला र प्रचारबाजीको पछाडि नलाग्न आग्रह गरेको हो  ।

सरकारले सङ्क्रमणबाट जोगिन उच्च सतर्कता अपनाएकोले अनावश्यक चिन्ता लिएर नबस्न पनि मन्त्रालयका प्रवक्ता एवं सह–सचिव केदारनाथ शर्माले आग्रह गर्नुभएको छ । 

यस्तै मन्त्रालयले हल्लाको पछि लागेर उपभोग्य वस्तुको खरिद र भण्डारणमा कुनै पनि प्रकारको हतार नगर्न पनि आग्रह गरेको छ । कसैले कालोबजारी, मूल्यवृद्धि र कृतिम अभाव गरेको पाइए तत्काल सम्बन्धित निकायमा खबर गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । 

मन्त्रालयले सामाजिक सञ्जाल र संचारमाध्यमले डर पैदा गर्ने खालका काम गरिरहेको पाइएकोले तथ्यपरक सूचना मात्रै प्रवाह गर्न पनि संचारमाध्यमलाई आग्रह गरेको छ ।यसैबीच,अती आवस्यक बाहेक अरु भीडभाड र भेलामा जम्मा हुने, शभा सम्मेलन जस्ता काम नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भीडभाडमा नहिँड्न, स्वास्थ्यमा ध्यान दिन र भोजभतेर, मेला र सम्मेलनलगायतका कार्यक्रम नगर्न सार्वजनिक सूचना जारी गरिसकेको छ ।