आफू अभिभावक त पक्कै आफ्ना बालबालिकाको भविष्यका लागि परिरहेकै हुन्छौं तर ज्ञान, बुद्धि र असल संस्कारको विकास गर्न पनि हामी तत्पर हुन पर्छ । असल संस्कार कस्तो हुन पर्छ भन्ने बुझ्न यो रोचक प्रसंग पढ्नुहोस् र प्रतिक्रिया पनि दिनुहोस् है।
एक राजासित एक सुन्दर र बुद्धिमान् घोडी थियो । कैयौँपटकको युद्धमा उसले राजालाई बचाएको थियो । घोडी राजाप्रति पूर्णतः बफादार थियो । घोडीले एक सुन्दर बछेडोलाई जन्म दियो । तर, बछेडो बलियो र हृष्टपुष्ट भए पनि एउटा आँखाले देख्न सक्दैनथ्यो ।
एकदिन बछेडोले आमासित सोध्यो– आमा, म सबै कुरामा पूर्ण छु । बलियो पनि छु । तर, एउटा आँखा देख्दिनँ, यस्तो किन ? घोडीले जवाफ दियो– म गर्भवती भएको समयमा मसित रिसाएर राजाले मलाई एक कोर्रा हिर्काएका थिए, जसको कारण तिम्रो यो अवस्था भयो । आमाको कुरा सुनेपछि बछेडोलाई राजासँग रिस उठ्यो र भन्यो– आमा ! म ठूलो भएपछि राजासित यसको बदला लिन्छु । घोडीले भन्यो– राजाले हाम्रो पालनपोषण गरेका छन् । त्यसैको परिणामस्वरूप तिमी स्वस्थ र सुन्दर छौ । राजा हामीसित रिसाए भन्दैमा हामीले उनलाई कुनै क्षति पुर्याउनु हुँदैन । बछेडोले आमाको कुरा राम्ररी बुझेन । उसले मनमनमा भन्यो– ठूलो भएपछि म यसको बदला लिन्छु, लिन्छु । बछेडो जवान भयो । एकपटक राजाले युद्धमा जाँदा उसैलाई लिएर गए । युद्धको समयमा राजा घाइते भए । घोडाका लागि राजासित बदला लिने सुनौलो मौका थियो । ऊ राजालाई घाइते अवस्थामै छाडेर भाग्न सक्थ्यो । ऊ भागेपछि दुस्मनले राजालाई पक्रिन या मार्न सक्थे ।
तर, घोडाको मनमा यस्तो कुनै विचार आएन । ऊ तुरुन्तै राजालाई बोकेर दरबार फर्कियो । दरबार पुगेपछि उसले घोडीलाई भन्यो– आमा ! आज राजासित बदला लिने गज्जबको मौका थियो । तर, अचम्म ! मेरो मनमा बदला लिने विचार नै आएन । यस्तो किन भयो होला, आमा ?
घोडीले हाँस्दै भन्यो— छोरा, तिम्रो रगत र संस्कारमा धोका भन्ने छँदै छैन । तिमी कसैलाई पनि जानाजान धोका दिन सक्दै सक्दैनौ । तिमीमा मेरो अंश छ । मेरो बफादारीको संस्कार कसरी झुटो हुन सक्छ ?