यदि कुनै ठुलो वा अन्यथा भन्न लायक समस्या उब्जिएन भने बैंक अफ काठमाण्डू (बीओके) र ग्लोबल आइएमई बैंक बिच मर्ज हुने पक्का छ। यो मर्जलाई पूर्णता दिएर यसै आर्थिक वर्षको तेस्रो त्रैमासमा एकीकृत कारोबारको वित्तीय विवरण प्रकाशित गर्ने तयारीमा रहेका यी दुई बैंक मिलेपछि नेपालकै सर्वाधिक ठुलो र बलियो बैंक बन्ने देखिएको छ।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्ज भएपछि नयाँ बन्ने बैंकको चुक्तापूँजी ३१ अर्ब २९ करोड ६ लाख ७९ हजार रुपैयाँ पुग्नेछ । हाल बैंक अफ काठमाण्डूको चुक्तापूँजी ९ अर्ब ६५ करोड ८१ लाख ७६ हजार रुपैयाँ छ भने ग्लोबल आइएमई बैंकको २१ अर्ब ६३ करोड २५ लाख ३ हजार रुपैयाँ रहेको छ ।
यी दुई बैंक मर्जपछि कुल सम्पत्ति ४ खर्ब ७७ अर्ब ११ करोड ४४ लाख १६ हजार रुपैयाँ कायम हुनेछ । अघिल्लो आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको वित्तीय विवरण अनुसार ग्लोबल आइएमई बैंकको कुल सम्पत्ति ३ खर्ब ४५ अर्ब ३७ करोड २८ लाख ८० हजार रुपैयाँ रहेको छ भने बैंक अफ काठमाण्डूको १ खर्ब ३१ अर्ब ७४ करोड १५ लाख ३६ हजार रुपैयाँ रहेको छ ।
उक्त अवधिसम्म ग्लोबल आइएमई बैंकले २ खर्ब ६८ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप सङ्कलन गरेको छ भने बैंक अफ काठमाण्डूले १ खर्ब ३ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप सङ्कलन गरेको देखिन्छ । त्यस्तै, ग्लोबल आइएमई बैंकले २ खर्ब २८ अर्ब रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको सो विवरणमा उल्लेख छ। उता बैंक अफ काठमाण्डूले ९३ अर्ब ५८ करोड रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको छ । चौथो त्रैमाससम्म ग्लोबल आइएमई बैंकको निष्क्रिय कर्जा १ दशमलव ४२ प्रतिशत र बैंक अफ काठमाण्डूको १ दशमलव ६७ प्रतिशत छ ।
बैंक अफ काठमाण्डू (बीओके) र ग्लोबल आइएमई बैंक बिच मर्जर गर्ने सम्बन्धमा सम्झौता नै भैसकेको ती बैंक सम्बद्ध उच्च स्रोतले जानकारी दिएको हो । यी दुई बैंक बिच साउन २९ गते मर्जर सम्बन्धी सम्झौता सम्पन्न भएको बैंक अफ काठमाण्डू सम्बद्ध स्रोतले पुष्टि गरेको छ।
प्राप्त जानकारी अनुसार ९० देखि ९५ को स्वाप रेसियो बिओकेले पाउने सहमति भएको छ। बिचमा मर्जर प्रक्रिया भाँडिने सम्भावनालाई मध्यनजर गर्दै यो कामलाई अति तीव्र गतिमा सम्पन्न गर्ने भन्ने समेत दुई बैंकका सच्न्चालक बिच सहमति भएको छ।
बैंक स्रोतका अनुसार दुवै बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक रिपोर्ट अर्थात् पुस मसान्तसम्मको वित्तीय विवरण भने एउटै प्रकाशन गर्ने स्तरमा मर्जर प्रक्रिया अघि बढाउन तयार भएका छन्। यदि त्यो सम्भव भएन भने तेस्रो त्रैमासको रिपोर्ट भने जसरी पनि एउटै जारी गर्ने भन्दै दुवै बैंकका सञ्चालकहरू लागि परेका छन्।
यसभन्दा पहिला करिब दुई वटा वाणिज्य बैंकहरु ‘कमर्स एन्ड ट्रष्ट’ र जनता बैंकलाई ग्लोबल आइएमइले आफूमा मर्ज गराइसकेको छ । त्यस अलावा ग्लोबल आइएमइ बैंकले करिब डेढ दर्जन अन्य साना बैंक तथा वित्तीय संस्थाहरू आफूमा गाभिसकेको छ ।