नेपाली नोट: यसपटक दशैँमा नयाँ होइन सुकिला नाेट

- 2019 August 24 मा प्रकाशित

नेपाल राष्ट्रबैंकले बर्सेनि दशैँमा नोट छपाइमा मात्रै १ अर्ब रुपैयाँभन्दा धेरै खर्च गर्दै आएको छ । अघिल्लाे वर्षको दशैँमा पनि नेपाल राष्ट्रबैंकले ७९ करोड रुपैयाँ खर्च गरेको थियो । हरेक वर्ष नोट मैलो हुँदा र च्यातिँदा राष्ट्रबैंकले छपाइको लागि ठूलो मात्रामा पैसा खर्च गर्दै आएको छ ।

नेपालमा नोटको  सुरक्षामा ध्यान नदिँदा बर्सेनि करोडौँ रुपैयाँ खर्च भैरहेको भन्दै राष्ट्रबैंकले नागरिकस्तरमा कसरी पैसा सफा राख्ने, कसरी कच्याककुचुक नपार्ने लगायतका जनचेतना दिने प्रयास गरिरहेको छ । तर पनि पैसामा केरकार गर्ने, फोहोर गर्ने, कच्याककुचुक पार्नेलगायतका समस्या हटेका छैनन् ।

नयाँ नोट पनि वर्षदिनमै झुत्रा हुने भएपछि राष्ट्रबैंकले यो दशैँमा भने केही दरका नोट नयाँ नछाप्ने योजना बनाएको छ । विशेषगरी १०, २० र ५० रुपैयाँ दरका नोट नयाँ नछाप्ने र गोदाममा रहेका सुकिला नोट प्रयोग गर्ने राष्ट्रबैंकको तयारी छ ।दशैँमा १०, २० र ५० दरका नोट धेरै उपयोग हुने गरेका छन् ।

‘हेर्दा नयाँजस्ता देखिने विभिन्न दरका नोट हामीसँग गोदाममा छन्, त्यसैले यो दशैँमा नयाँ नोट नछापेर सुकिला नोटले काम चलाउनेबारे छलफल भैरहेको छ’, राष्ट्रबैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले भन्नुभयो । ५, १००, ५०० र १००० दरका नोट भने नयाँ छपाइ गरिने राष्ट्रबैंकले जनाएको छ ।

समाचार स्रोत: उज्यालो