खोटाङमा सालक संरक्षण सम्बन्धी विद्यालय सचेतना कार्यक्रम

- 2024 September 20 मा प्रकाशित

खोटाङ, नेपाल – लोपोन्मुख सालक तथा जौविक विविधता संरक्षणको लागि २०८१/०५/०५ गते बाट २०८१/०५/१८ गते सम्म खोटाङको विभिन्न १४ वटा विद्यालयमा सचेतना कार्यक्रम संचालन गरिएको छ । यस कार्यक्रमको आयोजना प्रकृति संरक्षण र अध्ययन केन्द्र (NCSC) द्वारा गरिएको थियो । विश्वबाटै विलुप्त हुन लागेको सालक संरक्षण तथा संवर्धनमा विद्यालय स्तरबाटै सचेतना जगाउने हेतुले गरिएको यस कार्यक्रममा कुल ७२५ विद्यालयहरुको सहभागिता रहेको थियो ।

सालक नेपालको सबैभन्दा दुर्लभ तथा संकटापन्न साना स्तनधारी प्राणी हुन् । नेपालमा पाइने कालो सालक र तामे सालक दुबै राष्ट्रियस्तरमा संरक्षित प्रजातिको रुपमा रहेको छन् । विश्वमा पनि सालक सबैभन्दा बढी चोरी शिकारी हुने जीवमा पर्छ । मासु, शरीरको अङ्ग र खबेटाको लागि हुने अवैध शिकार, वासस्थान विनाश तथा खण्डीकरण, पानी र आहारको चेतना र शिक्षाको कमी आदि सालकको लागि आसन्न प्रमुख खतराहरु हुन् ।

यस कार्यक्रमको सुरुवातमा विद्यार्थीहरुलाई जौविक विविधताबारे जानकारी दिइएको थियो । त्यसपछि स-बिस्तार रुपमा सालकको परिचय, विशेषता, महत्व, चुनौती तथा संरक्षणको आवश्यकताबारे अन्तरक्रियात्मक प्रस्तुतिकरण गरिएको थियो । कार्यक्रमलाई अधिकतम अन्तरक्रियात्मक बनाउनका लागि सालकको तस्बिर तथा भिडियोहरु देखाइएको थियो । सालकबारे विद्यार्थीहरुको ज्ञान परिक्षण गर्न वस्तुगत प्रश्नहरु प्रस्तुतिकरण अघि र पछि समाधान गर्न पनि दिइएको थियो ।

सालकको संरक्षणको लागि विद्यालयको विद्यार्थीहरुलाई शिक्षित गरेर, हामी नयाँ पुस्ताहरुलाई संरक्षणको लागि प्रेरित गर्न सक्छौं भन्ने कुरा विद्यार्थीहरुको सक्रिय सहभागिताले देखाएको थियो । साथै यस कार्यक्रमका बारेमा दिक्तेल अंग्रेजी आवासीय माध्यमिक विद्यालयका विज्ञान शिक्षक श्री शुशिल चन्द्र राईका अनुसार ”वनको पारिस्थितिक प्रणालीमा सालकको महत्वपुर्ण भुमिका रहेको हुन्छ । यसले कमिला र धमिरालाई खाएर वनलाई विनाश हुनबाट बचाउँछ । यदि सालक लोप भएमा कमिला र धमिराको अनियन्त्रित वृद्धि भई वनको नाश गर्छ । त्यसैले सालकको संरक्षण गर्न आवश्यक छ । यस्तो महत्वपुर्ण जीवको बारेमा थप जान्न पाउँदा खुसी लागेको र यसले विद्यार्थीहरुमा पनि सालक सम्बन्धी चेतना तथा शिक्षामा सकारात्मक परिवर्तन ल्याउने छ” भनि महत्वपुर्ण भनाई प्रस्तुत गर्नु भएको छ ।

सालक र जैविक विविधताको दिगो संरक्षणको लागि संस्थाको अनुसार: “यस सचेतना कार्यक्रम संचालन गरिएको विद्यालयबाट ५ वटा विद्यालय छनोट गरी इको क्लब निर्माण गर्ने र विद्यार्थीस्तरबाट नै दिर्घकालीन रुपमा खोटाङमा सालक तथा प्रकृति संरक्षण विभिन्न कार्यक्रमहरु संचालन गर्न लक्ष्य राखिएको छ।”

सालक जैविक विविधता र प्रकृतिको एउटा अभिन्न अङ्ग हो । यसको संरक्षण र संवर्धनको लागि सम्पूर्ण निकायहरु, सरकारी, गैर-सरकारी, समाज, विद्यार्थी, अनुशन्धानकर्ताहरु बीच हातेमालो हुनु आवश्यक छ । हाम्रो सानो-सानो प्रयासबाट नै यी कोमल जीवको सुरक्षित भविष्य सुनिस्चित गर्न सकिन्छ ।

यस सम्पूर्ण कार्यक्रमको संचालन निसान लिम्बुद्वारा गरिएको थियो । उनले जीवविज्ञानमा स्नातकोत्तर गरेका छन् भने हाल प्रकृति संरक्षण र अध्ययन केन्द्रमा सहायक अनुशन्धानकर्ताको रुपमा कार्यरत छन् ।

लेखक: निसान लिम्बु

सहायक अनुशन्धानकर्ता प्रकृति संरक्षण र अध्ययन केन्द्र (NCSC)

काठमाडौं, नेपाल

सम्बन्धित तस्बिरहरू: