सगरमाथा आरोहण: जहा हुने आम्दानीको दुई तिहाई हिस्सा विदेशमै

- 2019 May 9 मा प्रकाशित

नेपालकाे सर्बोच्च शिखर सगरमाथा अाराेहण गर्नेकाे संख्या दिनानुदिन बढ्दैछ। एक जना विदेशी आरोही सगरमाथा चढ्न आउँदा प्रतिब्यक्ति ११ हजार अमेरिकी डलर राजश्वका साथै आवश्यक उपकरण र सहयोगीहरुको खर्च सहित करिब ३० लाख नेपाली रुपैयाँ खर्च हुने आरोहण व्यवसायी बताउँछन् । सगरमाथा आरोहणमा प्रयोग हुने सामग्री, शिविरमा टाँग्ने टेन्ट मात्र होइन, आरोहीले लगाउने पहिरन समेत विदेशमै उत्पादन हुन्छन्, जसले आरोहण खर्चको ठूलो हिस्सा विदेशमै फिर्ता जान्छ । अधिकांश आरोहीले सगरमाथा आरोहणको रकम प्रायोजकबाट उठाउँछन् । अझ विदेशी एजेन्सीले सगरमाथा आरोहणका लागि  विश्वभरीबाट आवेदन आह्वान गर्नुका साथै प्रायोजक समेत खोज्छन् । ती एजेन्सीले आरोही जम्मा गर्ने, आर्थिक सम्झौता गर्ने र आवश्यक तालिम र प्रशिक्षण सबै काम विदेशमै गराउँछन् । प्रायोजकले आरोहीलाई दिने रकम कहीँ कतै खुलाइँदैन । त्यसबाट  नेपाल सरकारले लाभ पाउने कुरै भएन । व्यवसायीका अनुसार आरोहणमा उठ्ने रकममध्ये नेपालमा आउने र खर्च हुने भनेको करिब एक तिहाई मात्र हो । 

यो वसन्त ऋतुमा सगरमाथाबाट सबैभन्दा धेरै ४३ करोड ५२ लाख रुपैयाँ संकलन भएको छ, जुन सगरमाथाका नाममा हुने आर्थिक कारोबारको नगण्य हिस्सा हो । आरोहण दलले सरकारलाई निकुञ्ज प्रवेश, स्थानीय तह प्रवेश र आरोहणको शुल्क मात्र तिर्छन् । तर आधार शिविरदेखि सर्वोच्च शिखरमा हुने फिल्म सुटिङ, व्यावसायिक फोटो सेसन, साहसिक आरोहणका अरु पनि थुप्रै क्रियाकलाप हुन्छन्, जुन आरोहणपछि मात्र सरकारलाई जानकारी हुन्छ । पहिल्यै जानकारी गराए पनि त्यसमा थप दस्तुर लगाउने कानून छैन । विश्व सम्पदामा सूचीकृत सगरमाथामा विदेशी कम्पनीहरूको प्रभाव कम गर्दै कानून सुधार नगरी न्यून राजश्वमै पर्यटन मन्त्रालय चुप लागेर बस्ने हो भने नेपालले हककै रूपमा पाउने आर्थिक लाभ पनि गुमिरहनेछ ।