सोलुखुम्बु — ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । साहस ऊर्जा कम्पनी लिमिटेड प्रवर्द्धक रहेको उक्त आयोजना अघिल्लो सातादेखि परीक्षण उत्पादनका क्रममा थियो । ‘सबै उपकरण परीक्षण सफल भएपछि विद्युत् प्राधिकरणको राष्ट्रिय प्रणालीमा जोडिएको छ,’ साहस ऊर्जा लिमिटेडका अध्यक्ष हिम पाठकले भने ।
सोलुदूधकण्ड नगरपालिका–११ स्थित सोलुखोलाको पानी ४ हजार ६ सय ७९ मिटर लामो सुरुङमार्ग र १९ सय ३८ मिटर लम्बाइको पाइप लाइनमार्फत थुलुङदूधकोसी ३ मैकुबेसीमा खसालेर ८६ मेगावाट बिजुली उत्पादन गरिएको हो । नदी प्रवाह (आरओआर) मा आधारित उक्त आयोजना लाम्माने सबस्टेसनमा रहेको १३२ केभीए सोलुकरिडोरमा जोडिएको हो । साहस ऊर्जाको विद्युत् गृहदेखि लाम्मानेसम्म १३ किमि ग्रिड निर्माण गरी आयोजनाले १३२ केभी प्रसारण लाइनमा जोडेको हो । उक्त आयोजनाको ग्रस हेड ६ सय १३ मिटर छ ।
०७२ असोजमा विद्युत् विकास विभागबाट जेनेरेसन लाइसेन्स लिएको कम्पनीले सिभिल क्षेत्र निर्माणको जिम्मा इटाली कम्पनी सीएमसी द रिभेन्नाले पाएको थियो । सम्झौताअनुसार काम नगरेको भन्दै उक्त कम्पनीसँग ठेक्का तोडेर पुनः नयाँ ठेक्का आह्वान गरिएको थियो । त्यसपछि सीई कन्स्ट्रक्सनले ठेक्का लिएर सिभिलतर्फको काम समयमै सम्पन्न गरी आयोजनाले पूर्णता पाएको हो । उक्त आयोजनाको हाइड्रोमेकानिकलको ठेक्का माछापुच्छ्रे एन्ड मेटल वर्कसप र इलक्ट्रोमेकानिकलको ठेक्का भाइथ हाइड्रोले लिएको थियो ।
२५ प्रतिशत संस्थापक तथा सेयरधनी र ७५ प्रतिशत बैंकको लगानीमा करिब १३ अर्ब लागतमा आयोजना निर्माण भएको हो । साविकको नेपाल इन्भेस्टमेन्ट बैंकको नेतृत्वमा १० बैंकले यस आयोजनामा लगानी गरेका हुन् । आयोजना नेपालको निजी क्षेत्रबाट बनेको पहिलो ठूलो र देशको तेस्रो ठूलो रहेको बताइएको छ । यसअघि तामाकोसी ४५६ मेगावाट र कालीगण्डकी १४४ मेगावाट क्षमताका आयोजना निर्माण सकिएका छन् ।
८६ मेगावाट क्षमताको विद्युत् आयोजना केन्द्रीय लाइनमा जोडिएसँगै विद्युत् प्राधिकरणलाई हिउँदयाममा राहत भएको छ । १५ दिनभित्र व्यावसायिक उत्पादन गरिने कम्पनीका अध्यक्ष पाठकले बताए । यसअघि सोलुखोलामै निर्मित २३.५ मेगावाट क्षमताको अपर सोलुजलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सोलुखोलामा अझै १ सय ५० मेगावाटभन्दा बढी क्षमताका विद्युत् आयोजना निर्माणका क्रममा छन् ।