सपनाको कथा भाग ६ (नयाँ भाग)

- 2022 April 5 मा प्रकाशित

टेक सुवेदी – सोलुखुम्बु: एउटा छुट्टै दुनिया जहाँ अनेक जात, भाषा, धर्म र संस्कृतिका मानिसहरु मिलेर ठुलो चौरमा बसेर सबैजना सुख, दुःख, हर्ष, विस्मात साटासाट गरि रहेका छन् । जहाँ एउटा पातलो–अग्लो र गोरो वर्णको केटा पनि आफ्नो साथीहरु सँग ख्याल ठट्टा गरिरहेको थियो । त्यतिकैमा एउटी चिटिक्क नेपाली पोषाकमा सजिएकी केटी आएर लाज र डर भरिएको मुहारमा “हजुरसँग केही व्यक्तिगत कुरा गर्नु छ, एकक्षण मसँग आउनुहोस् न” भनिन् । अचानक यसरी कसैले बोलाउँदा ऊ अक्क न बक्क भएर कहिले साथीको त कहिले उनको मुखमा हेर्न थाल्यो । साथीले टाउको हल्लाएर को हो भन्ने संकेत ग¥यो र उसले थाहा छैन भन्ने संकेत गर्दासम्म उसको मुख लाजले होला रातो–रातो भइसकेको थियो । त्यसपछि अरु कुरा केही नगरी ऊ मनभरी अनेकौँ कुराहरु खेलाउदै उनको पछिपछि लाग्न थाल्यो । उसको केही वर्ष अगाडि सहर जाँदा सवारी दुर्घटनामा परी टाउकोमा चोट लागेको हुनाले स्मरण शक्ति कमजोर भएको थियो ।
केही पर अलिक भिड कम भएको ठाउँमा पुगेपछि उनले बस्नु भन्ने इशारा गरिन, कता कता उसलाई डर लागेर होला त्यस्तो गर्मीमा पनि जाडो लागे जस्तो थुरुरुरु काँपी रहेको थियो । अलिक मलिन स्वरमा “तपाईँ त कस्तो मान्छे हो है, हामीलाई त चटक्कै बिर्सिनु भयो त” भनिन् । ऊ अझै पनि अलमल्ल परिरहेको थियो र भन्यो “किन… कहिले बिर्सेँ… अनि… को हौ तिमी?” उनले त्यति बेला लागेको उसको टाउकाको चोट देखेर त्यो पाँच वर्ष अगाडिको घटनाको समाचार सम्झिन् “आज साँझ सहर आउँदै गरेको सवारी दुर्घटनामा परेको छ, जसमा चालक सहित बिसजना सवार मध्ये एकजनाको टाउकोमा चोट लागेर गम्भिर घाइते भएका छन् ।” यति सम्झि सक्दासम्ममा उसको गहभरि आँसु भरिसकेको थियो र रुन्चे स्वरमा उनले बोल्न थालिन् “सायद तपाईँले बिर्सि सक्नु भयो होला तर मैले सम्झिरहेको छु कि त्यो पाँच वर्ष अगाडिको घटना, जहाँ मलाई बचाउँदा तपाईलाई ठुलो चोट लागेको थियो । जुनदिन म सहर जान भनि चढेको सवारी बिच बाटो मै बिग्रेको हुनाले तपाईँ चढेको सवारीमा म पनि चढेको अनि तपाईँले त्यो कोइलीको जस्तो मधुर स्वरमा यहाँ बस्नुहोस् भन्नु भएको थियो । जुन त्यो दुर्घटना हुने बेलासम्म हामीले एक–अर्काका सबै कुराहरु साटासाट गरिसकेका थियौँ । घटना भएको करिब ६–७ महिना पछिसम्म पनि कुनै खबर आएन । त्यसपछि मैले हजुरले भन्नु भएको कलेज र त्यसका आसपासका कलेजहरुमा पनि बुझेँ तर केही पत्तो पाउन सकिन । हजुरले दिनु भएको नंबरमा सम्पर्क गरेँ तर सम्पर्क नै हुदैन थियो र चिठी पनि पठाएँ तर ठेगाना गलत भएको रहेछ, सामाजिक सञ्जालमा पनि खोजेँ, तपाईँका नामका थुप्रै फेक अकाउन्ट भेटाएँ तर केही सिप लागेन । एक महिना अगाडि राष्ट्रिय दैनिकमा यहाँको ठाउँ ठेगाना सहित ठुलो मेला लाग्ने सूचना देख्दा त्यतिबेला पो हजुरले हरेक पाँच वर्षमा हुने उत्सब जहाँ जात, भाषा, धर्म र संस्कृतिका मानिसहरु आउँछन भन्नु भएको कुरा याद आयो । मलाई पूर्ण विश्वास थियो कि तपाईँ यहाँ आउनु हुन्छ भनेर, त्यसैले म एक महिना अगाडि देखी यहाँ आएर आजकै दिनको प्रतिक्षामा थिएँ । आज म निकै खुसी छु किनकी हजुरलाई भेट्न पाएँ ।”
यति भनिसक्दा सम्म ऊ सपनीमा चिटिक्क परेकी परी आएर कथा सुनाए जस्तो अनुभव गरिरहेको थियो । उनले छेउमै आएर च्याप्प पाखुरामा समाउँदै “सुन्नुहोस् न  भनेको, तपाईँको बिहे भएको छ कि छैन ?” भनिन् । अझपनि उसलाई बोल्न डर लागी रहेको थियो र “अहँ… छैन… किन सोध्नु भएको ?” भन्यो । “किनकी म हजुरसँग जुगौँ टिक्ने सम्बन्ध गाँस्न चाहन्छु ।” भनिन् तर उसले कुनै प्रतिक्रिया दिएन । उनले “त्यो घटनापछि के भयो, भन्नुहोस् न” भनेर जिद्धि गर्न थालिन् । ऊ केही नबोली बसेको ठाउँबाट उठेर २∕३ पाइला पर गएर टक्क उभियो अनि ठुलो श्वास फेर्दै बोल्न थाल्यो “मलाई त्यो घटना अगाडिको कुनै कुरा याद छैन, तर जब मेरो होस आएर अस्पतालबाट डिस्चार्ज भएँ तब साथीहरुले ७ महिनासम्म मुढो लडेजस्तो लडेको, हामीले त आशै मारेका थियौँ तर भगवानको कृपाले होश आयो भनिरहेका थिए तर मेरा लागि उनिहरु नै भगवान थिए । जसले मेरा बाबाआमालाई सम्झाउने देखी लिएर उपचार गर्दा लागेको खर्च समेत व्यहोरेका थिए । त्यसपछि मैले त पढ्ने सोच गरिन तर उनिहरुलाई डाक्टरले पुराना यादलाई फेरी कोट्याउने प्रयास नगर्नु भनेको हुनाले उनीहरुले आफ्नो पढाइ छाडेर युटुबमा सामाजिक समस्यामा आधारित ज्ञानबद्र्धक र मनोरञ्जनात्मक भिडियोहरु हामी निर्माण गर्ने गछौँ । तर यस्तो मानसिक सन्तुलन ठिक नभएकाले बनाएको कसले पो हेर्ला र भन्नेहरु आज गुणगाण गाएर हिँड्छन् र आयो बिहेको कुरा, मेरा बा–आमा र साथीहरुले कुरा पचासौँ ठाउँमा चलाइसकेका छन् तर सबैले मानसिक सन्तुलन गुमेकालाई कसरी छोरी दिने भन्छन् । उनीहरुले जे सुकै भनुन् तर आजसम्ममा म जे छु ठिक छु जस्तो लाग्छ ।” 
यति भनि सक्दासम्म दुबैजनाका आँखा रसाइ सकेका थिए । उनले सान्त्वना दिने हेतुले उसको छेउमा गएर च्याप्प हात समाइन तर उनीहरुले नसोचेको कुरा भयो, उनीहरुलाई पुर्नजन्मको याद आउन लागेको थियो तर उसको साथी आएर याद यता न उता पारिदियो । साथी अलिक रिसाएको जस्तो देखिन्थ्यो । उसले साथीलाई उनको बारेमा सबै कुरा भन्यो । साथीले पनि हाँस्दै “अब दुवैजना सहमत हो भने यहि मेलामा विवाह गरे भैगो नि, नयाँ कुराको सुरुवात हुन्छ त झन” भन्यो । दुवैजना एकअर्कालाई हेरेर मुसुक्क हाँसे र विवाहको तयारी गर्न लागे ।