”आमाको आँशु र पसिना, समुन्द्रको नुन हो।”

- 2022 March 8 मा प्रकाशित

मेरो घरमा, भाले बास्दैन
आमाले गर्नुहुन्छ, कुखुरी काँ
घामले ओछ्यानमै आँखा मिच्दै गर्दा
यता, झुलो चकमक्कले
झुल्केघाम लगाइ सक्नुहुन्छ घरमा
माली गाईसँग दुध साट्न
कचिया र डोकोलाई हात सुम्पनुहुन्छ।
बिडम्बना कहिले डाले घाँस संगै बजारिनुहुन्छ
ढुङगाको बिस्तारामा माथी,
चिलको आँखा बाट
त……ल   त……ल  सम्म नियाल्दा
खेतबारिको कान्लाहरु
हाम्रो, हत्केलाका रेखाहरु संग मिल्छन ।
प्रत्येक कान्लाहरुमा 
हत्केला छाडेका छन पुर्खाहरुले
मलिलो माटोमा पुर्खाकै पैताला लुकेका छन ।
सबै कान्लाहरु जोडेर हेर त
ग्रेटवाल कति छोटो देखिन्छ ।
हाम्रो खेतबारीका कान्लाहरु
देशका लागि ग्रेट कान्लाहरु हुन ।
यिनै कान्लाहरुमा पसिना बनेर खस्नुहुन्छ
आमा उखुमा पस्नुहुन्छ
र,
सन्तानलाई रसिलो बनाउनुहुन्छ ।
मेला, घाँस, दाउँरा, सरौं गर्नु हुँदा
बाटाका पत्थरहरुको सिउँदोमा
खुँट्टाको रगत चडाइदिनुहुन्छ ।
युगौं युगको नाता संबन्धको लागी
जंगरले बनेको कुँचिले
बुलाकिको आँशुको दाग पखाल्छिन ।
बगाएर लान्छ कोशिले आँशुको तालहरु
सुकाएर बनाउछ समुन्द्रले नुनिलो नुन ।
आमाको आँशु र पसिनाका ढिक्काहरु
हुन भान्साको नुन
आँशु र पसिनाको निलो खेत हो – समुन्द्र ।
आँशुको सम्मानमा माछाहरु,
सलामी परेड खेल्छन ।
सिपाहीहरुले पसिनाकै गर्व बोकेका हुन ।
जन्माइ रहेछन चम्किला मोतिहरु ।
आँखिर टल्किने त पसिना न हो
पानीको जिबन चक्र पढे पछी
म दावाका साथ भन्छु ।
आमाको आँशु र पसिना, समुन्द्रको नुन हो ।

लेखक :-
भद्रगोल किराती, सोलुखुम्बु।
२०७८- फागुन २४

यति मिठो कविता लेखेर हामीलाई यस सोलुदुधकुण्ड अनलाइन मार्फत प्रकाशन गर्न अनुमति दिनु भएकोमा भद्रगोल सरप्रति हाम्रो टिम हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा साहित्य क्षेत्रमा मात्र नभई अन्य क्षेत्रमा पनि सफलताको शिखर चुम्नु होला भनी सम्मान र शुभकामना व्यक्त गर्दछौँ ।