सोलुखुम्बु : राँगा चोरी गर्ने दुई जना र मासु विक्रि गर्ने १ जना पक्राउ

- 2020 October 10 मा प्रकाशित

सांकेतिक तस्विर

सोलुखुम्बु : सोलुखुम्बु सदरमुकाम सल्लेरी आसपासका क्षेत्रहरुमा भैसी तथा राँगा चोरी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सल्लेरी, फाप्लु र खोलाघारीबाट विभिन्न समयमा राँगा तथा भैसी चोरी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सोलुदुधकुण्ड नगरपालिका ४ रोक्दिङ बस्ने बर्ष २८ को राम बहादुर श्रेष्ठ र सोलुदुधकुण्ड नगरपालिका ११ तिङला घर भई हाल वडा नम्बर ५ सेर्गामा बस्दै आएका पुर्ण बहादुर भुजेल रहेका छन् । साथै चोरी गरेको राँगा खरिद गरेर मासु विक्रि गर्ने ओखलढुंगा सुनकोशी गाउँपालिका १ घर भई सल्लेरीमा मासु पसल गर्दै आाएका ४२ बर्षिय कुमार बहादुर मगर पक्राउ परेका छन् ।

प्रहरी निरिक्षक महेन्द्र दर्नालका अनुसार आरोपित राम बहादुर श्रेष्ठले असोज १४ गते राती ८ बजे खोलाघारीका कामी तामाङको गोठबाट ४३ हजार रुपैया पर्ने रागा र फाप्लुकी कल्पना लामाको गोठबाट ७० हजार रुपैँया पर्ने रागा चोरि गरेर बेचेका थिए ।

 उक्त राँगा  ओखलढुंगाको सुनकोशी गाउँपालिका १ घर भई सल्लेरीमा मासु पसल गर्दै आाएका ४२ बर्षिय कुमार बहादुर मगरले खरिद गरि मासु विक्रि गरेको प्रहरीको भनाई छ । त्यसैगरी असोज २१ गते साझ ७ बजे वडा नम्बर ६ दोर्पुकी दावा साङमु तामाङको ६० हजार रुपैया पर्ने राँगा चोरि गरेका थिए । उक्त रागा सोलुदुधकुण्ड नगरपालिका ४ सुर्केमा फेला परेको थियो ।

असोज १९ गते वडा नम्बर ४ यारमादिङका मंगल विश्वकर्माको ३५ हजार रुपैया पर्ने रागा चरणबाटै हराएको थियो । उक्त रागा सोलुदुधकुण्ड नगरपालिका ११ तिङला घर भई हाल वडा नम्बर ५ सेर्गामा बस्दै आएका पुर्ण बहादुर भुजेलले चोरि गरि मासु प्रयोग गरेको प्रहरी निरिक्षक दर्नालले बताउँनुभयो ।

राँगा खोजी गर्दै जाने क्रममा भुजेललले घरको भुईतलामा काटेर टाउको तथा आन्द्रा लुकाएको अवस्थामा फेला पारेपछि चोरि गर्ने भुजेललाई स्थानियले पक्राउ गरि प्रहरी बुझाएका थिए । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । अरोपित तिनै जना अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतका रहेका छन् ।