कलाकारको थेगो चर्चा

- 2020 October 6 मा प्रकाशित

नेपाली कला क्षेत्रले दर्जनौं हाँस्य कलाकार जन्मायो । कुनै समय यस्तो पनि आयो टेलिश्रृंखलाहरुमा कलाकार पिच्छे थेगोहरु बने । ति थेगोले आम दर्शकमाझ परिचीत बनाउन सहयोग पुग्थ्यो । थेगोको आकर्षक प्रयोग र बोलिचालीमा सहज लाग्ने थेगोले कलाकार र दर्शकलाई नजिक बनायो । जसले समय अनुकुल उपनाम अथवा थेगोले आफूलाई परिचीत बनाए पछि त्यहि नै उनीहरुको ब्रान्ड बन्न पुग्यो, नेपाली कला क्षेत्रमा त्यस्ता केहि हस्तीहरु छन जो दशकौंसम्म थेगोकै कारण चर्चामा रहे । थेगोको प्रयोगका क्रममा रमाइला किस्साहरु पनि छन ।

मदनकृष्ण श्रेष्ठ 
केही वर्ष पहिला कतारमा कार्यक्रम गर्न गएका थियौ । कार्यक्रममा दर्शकहरुको भिड थियो । त्यसैबेला हाम्रो आयोजकले यी मान्छेहरु कति बोल्न सकेका होलान भनेर भन्नुभयो  । जति भन्दा नी नलाग्ने । ‘धोका दिनेलाई म के भनु र खै’ भनेर उहाँले भन्नुभयो  र अचानक त्यो थेगो मेरो र हरिवंश आचार्य जीको कानमा पर्यो र त्यसैलाई मैले थेगो बनाए । हामीले यसलाई  टेलिफिल्ममा पनि प्रयोग गर्न थाल्यौं । पहिला त मलाई खासै जम्दैन जस्तो लागेको थियो तर बिस्तारै यो थेगोलाई दर्शकहरुले एकदमै रुचाउन थाल्नुभयो । जसको मुखमा पनि यही थेगो हुन थाल्यो । 

हरिवंश आचार्य
मैले धेरै किसिमका थेगोहरु बोलेको छु तर मेरो एकदमै चलेको थेगो भनेको ‘यसो गरे कसो होला’ र ‘क्यानम डिस्र्टव’ हो । यी दुबै थेगोहरु मैले र मदन दाईले उत्पादन गरेको थेगो हो । र अर्को एकजना कलाकारबाट हामीले बनाएका हौ । क्यानम डिस्र्टव एकजना उद्घव भट्टराई भन्ने कलाकार हुनुहन्थ्यो जसलाई केही भयो कि क्यानम भनी हाल्ने । उहाँँलाई टेन्सन भयो या केही कुराहरुले सतायो भने क्यानम डिस्र्टव भन्नुहुन्थ्यो । क्यानम भन्दा भन्दै उहाँले जसलाई भेट्यो क्यानम मात्र भन्न थाल्नु भयो । क्यानम मदनकृष्ण, क्यानम हरिवंश भनेर हामीलाई जिस्काउनु हुन्थ्यो । यी कुराहरुलाई मैले एकदमै नियाली रहेको थिए । मैले पछि यसलाई थेगो बनाएर प्रयोग गरे र दर्शकले धेरै नै रुचाउनु भयो । 

यस्तै ‘यसो गरे कसो होला’ भन्ने मदन दाई र मैले सुटिङ कै बेलामा उत्पादन गरेको थेगो हो । सुटिङको बेला हामी बोल्दा बोल्दै प्राय यही थेगो बोल्ने गर्थ्यौं ।  हामीले पछि यसलाई थेगो बनाएर प्रयोग गर्यौं । 
 

रबि डँगोल 

मेरो ‘क बेइमान’ भन्ने थेगो दुईतरिका बाट आएको हो । एउटा नेवारी क्यारेक्टरबाट बेइमान भन्ने डाइलग बोल्दा बोल्दै उत्पादन भएको हो । म जहिले सुटिङको बेला बेइमान बेइमान मात्र भनिरहने र यो कुरा दिपक जी ले एकदमै नियाली रहनु भएको रहेछ । एकदिन दिपक जी ले मलाई अब यो बेइमान भन्ने बानीलाई टेलिफिल्ममा प्रयोग गर्नु पर्यो भन्नुभयो । आफनो नेवारी टोन । मैले उहाँँले भने जस्तै गरे र यो थेगो टेलिफिल्ममा प्रयोग हुन थाल्यो । अर्को तरिका चाही दिपक जी भाडामा बसेको घरमा सधै घरबेटिले दिपक जीलाई बेइमान दिपक भन्ने गर्नेरहेछ र दिपक जीले घरबेटीको बेइमान भन्ने तरिकालाई क्याच गरेर मलाई यो थेगो बोल्न लगाउनु भएको हो । 

यो थेगो नबोल्नु भनेर २०६२ सालमा शाही शासनले रोक पनि लगाएको थियो । पारसका छोरा हिरेन्द्र शाहले दरबारमा जसलाई भेटे पनि क बेइमान भन्ने गरेको र यो कुरा पारस लगाएत शाही परिवारलाई त्यती हजम नभएको हुनाले यसमा रोक लगाइएको थियो । 
 

किरण केसी 

‘हे राता मकै’ यो मलाई जीतु नेपालले दिएका हुन । पहिलो दिन जिरे खुर्सानीको सुटिङमा जीतु नेपालले हे राता मकै मात्र भन्ने गरेको र उनले यो शब्द धेरै ठाउँमा प्रयोग गरेको हुनाले मैले उनकोे यो राता मकै भन्ने बानीलाई टिपिहाले र उनीसँग सल्लाह गरेर टेलिफिल्मको थेगो बनाए । पहिला त यो थेगो चल्ला जस्तो लागेको थिएन तर बिस्तारै यो सार्वधिक लोकप्रिय बन्यो । जसको मुखमा पनि हे राता मकै भन्ने शब्द झुण्डिन थाल्यो । यो थोगो यती लोकप्रिय बन्यो कि गाडी, रेस्टुरा, पान पसल, दोहोरी सांझ, मासु पसल, चोक मार्ग यी सबैका नाम राता मकै हुन थाले । 
 

राजाराम पौडेल  

मलाई ‘परेको म बेहोरौ ला’ भन्ने थोगो कलाकार जीतु नेपालले दिएका हुन । यो सुटिङ कै क्रममा उसले सोचेको भरमा बनेको थेगो हो ।  मैले त गर्दिन भनेको थिए तर एकचोटि कोशिस गरेर त हेर्नु भन्नुभयो । अब यसमा खासै गर्नु पर्ने पनि त केही होइन । ‘परेको म बेहोरौ ला’ भन्यो बेहोर्ने चाही केही होइन । 
 

सिताराम कट्टेल 

‘म त मर्छु कि क्या हो’ थेगो मैले सिकेको भन्दा पनि साधारण प्रकृतिको थेगो हो । सुटिङमा मेरो र सुन्तलीको लभस्टोरीको सिनमा ‘म त मर्छु कि क्या हो’ भन्ने एउटा क्रियशन आएको र त्यसैलाई मैले आफनो थेगो बनाएको हो । कसैले दिएको पनि होइन र लिएको पनि होइन । यो मेरो आफनै क्रियशन हो ।