कृषि : रोकियो यार्सागुम्बा संकलन

- 2020 April 27 मा प्रकाशित

कोरोना भाइरस रोग संक्रमणको जोखिमका कारण यो वर्ष मुलुकका सबैजसो भागमा ‘बहुमूल्य’ यार्सागुम्बा संकलन नहुने भएको छ । अब यार्साको सिजन सकिने भएकाले अर्को वर्ष मात्र संकलन हुने भएको हो ।

कर्णाली प्रदेशका डोल्पा र मुगु, प्रदेश ५ को पूर्वी रुकुम, सुदूरपश्चिम प्रदेशका दार्चुला र बझाङ तथा गण्डकी प्रदेशका मनाङ, म्याग्दी र गोरखालगायतका जिल्लामा सबभन्दा बढी यार्सागुम्बा संकलन हुन्छ । वैशाखदेखि असारसम्म यार्सा संकलन गर्ने समय हो ।

मुलुकमै सबभन्दा बढी यार्सा संकलन हुने डोल्पास्थित् से–फोक्सुण्डो निकुञ्जमा यार्सा संकलनमा प्रतिबन्ध लगाइएको छ । यार्सागुम्बा व्यवस्थापन (संकलन तथा ओसारपसार) निर्देशिका २०७३ बमोजिम बर्सेनि निकुञ्जको भित्री भाग र मध्यवर्ती क्षेत्रमा यार्सा संकलन गर्न निकुञ्जले दस्तुर लिएर अनुमति दिने व्यवस्था छ । हिमाली क्षेत्रमा स्थानीयवासीको मुख्य आयको स्रोत नै यार्सागुम्बा हो । यार्सा संकलन गर्ने उद्देश्यले जाडो छल्न तल्लो क्षेत्र र काठमाडांै आएका स्थानीयहरु लकडाउन सुरु नहुँदै जिल्ला फर्किसकेका छन् ।

हिमाली निकुञ्ज नियमावली २०३६ को नियम २४ मा यार्सा संकलन गर्नका लागि जाने मध्यवर्ती क्षेत्रभित्रका बासिन्दासँग ५ सय, मध्यवर्ती क्षेत्रबाहेक निकुञ्ज रहेको जिल्लाका बासिन्दासँग २ हजार र अन्य जिल्लाका बासिन्दासँग ३ हजार रुपैयाँ दस्तुर लिने गरिएको छ ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र संकलन भएको यार्सा निकासी अनुमति निकुञ्ज र डिभिजन वन कार्यालयले व्यवस्थापन गर्ने क्षेत्रमा संकलित यार्साको निकासी डिभिजनल वन अधिकृतले दिने व्यवस्था छ । सरकारले पुरानो वन नियमावलीमा प्रतिकिलो यार्सामा ३० हजार रुपैयाँ राजस्व तोकेको छ ।

प्रतिकिलो ४० लाख रुपैयाँसम्म पुगेको यार्साको बजारभाउमा भने पछिल्लो केही वर्ष यता गिरावट आएको छ । नेपालका यार्सा धेरैजसो चिनियाँ बजार, सिंगापुर र युरोपेली मुलुक निकासी हुन्छ । यार्साबाट शक्तिबद्र्धक टनिकका साथै र अन्य विभिन्न प्रयोजनमा प्रयोग हुन्छ ।