मलामी जाँदाको मेरो पहिलो अनुभव

- 2020 April 8 मा प्रकाशित


भनिन्छ मानिस जिउदोको जन्ती र मर्दाको मलामी हो भनेर । त्यस्तै मिति २०७६/१२/१९ गते बिहिवारको घटना हो यो । त्यो मेरो पहिलो पटक मलामी गएको दिन थियो । अगाडिको दिनहरुमा मान्छे मरेको खबर सुन्ने बित्तिकै धड्कन बढ्थ्यो , हात खुट्टा काँप्थ्यो तर त्यो दिन मलाई केही पनि भएको थिएन । त्यो घरमा पुग्न मेरो घर बाट करिब ४५ मिनेट जति लाग्थ्यो । सधैं ७-८ बजे तिर उठ्ने म त्यो दिन करिब ४:३० तिर उठेँ । दुखद खबर अघिल्लो दिन नै थाहा पाएको थिएँ र मलामी म नै जाने निश्चित भई सकेको थियो । उठेर अलिकति खाजा खाएर म मरौ परेको घरमा गएँ । त्यहा पुग्दा रुवाबासी थियो । मानिसहरू धेरै जम्मा भएका थिए । घरका मानिसहरू मा कोलाहल मच्चिएको थियो । सबको मुहारमा शोक देखिएको थियो । म पुग्दा खटिया बनाउँदै थिए । केहि समय पछि लास लाई घाट तिर लान लागे । त्यही घरको छोरीले आफ्नो बाबालाई घाटमा लग्न दिई राखेकी थिइनन । तर सम्झाइ बुझाइ गरेपछी सबैजनाले मिलेर लास लाई उठाए । हिन्दु परम्परा अनुसार क्षेत्री तथा ब्राह्मणहरुको देहावसान पछि नजिकको ठूलो खोला / नदिमा लगेर दाहसंस्कार गर्ने चलन छ ।
त्यसपछि कोहि शंख फुक्दै त कोहि राम राम भन्दै लास बोकेर घाट तिर जान लाग्यौँ । मलामी गएपछि सबैले एकपटक लास बोक्नुपर्छ भन्ने चलन छ । अनि म पनि बोक्ने हेतुले अगाडि गएको थिएँ तर एकजना काकाले “भतिज यो शंख बजा त मैले बजाउनै सकिँन ” भन्नू भयो । मान्छे मर्दा एकोहोरो शंख बजाउनु पर्छ अनि २/३ पटक कोसिस गरेपछी बज्यो तर शंख पनि पहिलो बजाउन लागेको थिएँ । शंख बजाउन लाग्दा डर लाग्दै थियो । तर पहिलो पटक बजेपछी मेरो डर भाग्यो । लगभग २ घन्टा टाढाको दुधकोशी नदिको घाट नपुन्जेल सम्म बजाईरहेँ । शंख २ खालको बजाउनु पर्छ दाहिने र देब्रे । मैले चाहिँ दाहिने बजाई रहेको थिएँ । भने अर्को कसको हातमा थियो थाहा छैन । घाटामा पुग्दा सम्म ७३ जना मानिस पुगेका थिए । तर लास बोक्ने मानिस भने ७/८ जना मात्र थिए । सबै जना पछाडी बसेका थिए । जसोतसो घाटसम्म पुग्यौँ । सुरुमा म सहित ४ जना दाउरा खोज्न गयौं । १०/१२ ओटा ठुलाठुला मुढा काटेर ल्यायौँ । त्यस पछि अरुलाई पठायौँ । कोहि लासलाई जलाउन चिट्ठा बनाउँदै थिए ।

केही समय पछि चिट्ठामा चढाएर विधि पुर्याएर दाग बत्ती दिन लागे । दाग दिएपछि मेरो बच्चै देखिको साथी राजकुमार अनि म नुहाउन पानीको बहाव कम भएको ठाउँमा गयौं । चैत्र महिना भएकोले गर्मी पनि थियो अनि पानीको बहाव पनि उत्तिकै थियो घटेकै थिएन ।
लास जलाई सके पछि मर्ने मानिसको छोराको कपाल काटेर सेतै कपडा पहिर्‍याएर घर फर्कन लाग्यौं । घर फर्कँदा ठाडै उकालो थियो । १२ बजीसकेको हुनाले हिँड्नलाई गाह्रो भई रहेको थियो । भोकले गर्दा खुट्टा लल्याकलुलुक भएको थियो । जसोतसो १ घन्टा उकालो हिँडे पछि खाजा खाने ठाउँमा आई पुग्यौं । खाजासँग चिसो खाएर एकछिन आराम गर्यौं । अनि आफ्नो घर तिर म पनि लागेँ अरु पनि आफ्नो घरतिर लागे ।-लेखक टेकबहादुर खत्री