कोरोना भाइरस : चीनमा सङ्क्रमण घट्दो रुपमा, अरु देशलाई सहयोग गर्ने

- 2020 March 10 मा प्रकाशित

काेराेना भाइरस (कोभिड–१९) अर्थात् कोरोना भाइरसको सङ्क्रमण सुरु भएको चीनमा नयाँ मानिसमा सङ्क्रमण हुने दर घगएको जनवरी २० तारिखदेखि चीनको स्वास्थ्य विभागले दैनिक सार्वजनिक गर्ने विवरणअनुसार काेराेनाबाट सङ्क्रमित हुने नयाँ मानिसकाे सङ्ख्या घट्दै गएको हो ।

२४ घण्टामै सयौँ बिरामी थपिने गरेकोमा सोमबार नयाँ सङ्क्रमितको सङ्ख्या घटेर ४० मा झरेको थियो । मङ्गलबार १९ जनामात्रै नयाँ बिरामी भेटिएकाे बीबीसीले जनाएको छ । यस्तै ज्यान गुमाउनेको सङ्ख्या पनि दिनहुँ घटिरहेको छ भने उपचारपछि निको हुने क्रम बढेको छ ।

पछिल्लाे २४ घण्टामा कोरोना भाइरसका कारण चीनमा १७ जनाको ज्यान गएको छ । चीनमा अहिलेसम्म ८० हजार सात ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण भएकोमा ५९ हजार ९ सय पाँच जना उपचारपछि घर फर्किएका छन् ।अहिले १७ हजार सात सय १३ जनाको अस्पतालमा उपचार भइरहेकाेमा चार हजार सात सय ९४ जना सिकिस्त बिरामी रहेकाे चीनको स्वास्थ्य विभागले जनाएको छ ।

यसैबीच चीन सरकारले आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण नजिक पुगेको भन्दै अरु देशलाई सहयाेग गर्ने घोषणा गरेको छ । विश्वका एक सय १५ देशमा फैलिसकेको कोरोनाको सङ्क्रमण थप फैलनबाट रोक्न चीन सरकारले आफ्नो देशको अनुभव, प्रविधि र अन्तर्राष्ट्रिय आर्थिक सहयोग समेत बढाउने घोषणा गरेको चिनियाँ सञ्चारमाध्ययम सिन्ह्वाले जनाएको छ ।

प्रधानमन्त्री ली केकियाङको नेतृत्वमा बसेको बैठकले महामारीलाई थप फैलनबाट राेक्न र महामारी नियन्त्रण तथा आर्थिक वृद्धिलाई समन्वय गर्न व्यवस्थित ढङ्गले काम र उत्पादनलाई फेरि सुरु गर्न निरन्तर प्रयास गर्ने निर्णय गरेको खबरमा बताइएकाे छ ।