इन्डोनेशिया निर्वाचन: मतगणनामा खटिएका २७० भन्दा बढी कर्मचारीको मृत्यु

- 2019 April 28 मा प्रकाशित

इन्डोनेशियामा भर्खरै सम्पन्न निर्वाचनको मतगणनाका क्रममा २७० जनाभन्दा बढी कर्मचारीको मृत्यु भएको एक अधिकारीले बताएका छन्। तीमध्ये अधिकांश थकाइसम्बन्धी समस्याबाट पीडित थिए।निर्वाचन आयोगका प्रवक्ता अरीफ प्रियो सुसान्तोका अनुसार अरू १८ सय ७८ कर्मचारी बिरामी परेका थिए।

एप्रिल १७ मा भएको निर्वाचनको पर्यवेक्षण र मतगणना गर्न झन्डै ७० लाख व्यक्ति खटिएका थिए।उखरमाउलो गर्मी भएका बेला कर्मचारीहरूले राति पनि काम गर्नु परेको थियो। त्यसले धेरैलाई अस्वस्थ बनायो।

झन्डै २६ करोड जनसङ्ख्या भएको इन्डोनेशियामा खर्च जोगाउन केन्द्रीय तथा क्षेत्रीय संसद् र राष्ट्रपतिको चुनावमा एकैदिन मतदान भएको थियो।

त्यहाँ १९ करोड ३० लाख मतदाता थिए। योग्य मतदातामध्ये ८० प्रतिशतले मतदान गरेका थिए।त्यहाँ आठ लाख मतदान केन्द्र थिए।

अस्थायी कर्मचारी बढी पीडित

अधिकांश पीडितहरू अस्थायी कर्मचारी भएको बताइएको छ।

इन्डोनेशिया निर्वाचन

काममा खटिनुअघि स्थायी कर्मचारीको जस्तो उनीहरूको स्वास्थ्य परीक्षण गरिएको थिएन।निर्वाचन आयोगका प्रवक्ताका अनुसार २७२ जना कर्मचारीको धेरै काम गर्नुपरेका कारण समस्या उत्पन्न भएर मृत्यु भएको हो।

आयोगले प्रत्येक मृतकको परिवारलाई तीन करोड ६० लाख रुपियाँ अर्थात् २५ सय अमेरिकी डलर क्षतिपूर्ति दिने भएको निक्केई एशियन रिभ्यूले जनाएको छ।त्यो रकम एक कर्मचारीको एक वर्ष बराबरको न्यूनतम तलब हुन्छ।

सरकारको एकैचोटि निर्वाचन गर्ने निर्णय व्यावहारिक नभएको र त्यसबाट अस्थायी कर्मचारीबाट धेरै अपेक्षा भएको भनेर आलोचना पनि भएको छ।

निर्वाचन आफूले जितेको दाबी राष्ट्रपति जोजो विदोदो र विपक्षी नेता प्रबोवो सुबियान्तोले गरेका छन्।तर प्रारम्भिक गणनामा विदोदो विजयी भएको देखिएको छ।निर्वाचन आयोगले मतगणना सकिएपछि परिणाम मे २२ मा घोषणा गर्नेछ।