खुलामञ्च: अब खालि हुदै, भत्काइए ४२ सटर

- 2019 April 27 मा प्रकाशित

काठमाडौँ– काठमाडौँ महानगरपालिकाकाले खुलामञ्च अतिक्रमण गरि बनाईएका संरचना भत्काएको छ।

सनिबार काठमाण्डौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख रामप्रसाद आचार्य समेतको उपस्थितिमा खुलामञ्चमा निर्माण गरिएको सटरहरुमा डोजर लगाईएको हो। खुलामञ्च अतिक्रमण गरेर सटर निर्माण गरी व्यवसायीक प्रयोजनलाई दिईएको भन्दै व्यापक विरोध भएपछि शनिबार अपरान्ह ती संरचना भत्काइएको हो। महानगरपालिका र ठेकेदारको मिलेमतोमा खुलामञ्चमा संरचना निर्माण गरिएको थियो।

खुलामञ्चमा निर्माण भएका संरचना भत्काउने कार्यमा उपस्थित काठमाडौँका प्रमुख जिल्ला अधिकारी आचार्यले महानगरले नै सम्झौता गरेको र महानगरले नै सम्झौता विपरित संरचना निर्माण भएको भन्दै संरचना भत्काउने निर्णय गरेकाले सो निर्णयलाई आफुहरुले सहयोग गरेको बताए। पुराना ९ वटालाई छोडेर नयाँ ४२ वटा सटर भत्काईएको छ।

सटर भाडामा लिई व्यवसाय गरेका व्यापारीहरु भने आक्रोशित बनेका थिए। उनीहरुले महानगरले व्यवसायको प्रलोभन देखाएर गरिबलाई मार्ने काम गरेको भन्दै आफ्नो लगानीको पैसा फिर्ताको सुनिश्चिता गर्न माग गरे।

सडक निर्माणको समयमा कयौ रुख कटान भएको तथा संरचना निर्माण पछि व्यवसाय संञ्चालन भएपछि मात्रै यो विषयलाई उचालेको भन्दै मिडिया प्रति पनि उनीहरुले आक्रोश पोखे।

सार्वजनिक स्थानलाई महानगरले नै ठेक्का दिएको खुलासा भएसंगै सो कार्यको चौतर्फी विरोध भएको थियो। त्यसपछि महानगरले सटर भत्काउने निर्णय गरेको थियो। प्रमुख जिल्ला अधिकारी आचार्यले पीडीतको जाहेरीका आधारमा अनुसन्धान गरि दोषीलाई कारवाही गरिने बताए।

व्यापारीका सामान बाहिर निकालेर सटर भत्काईएको थियो। तर ताल्चा लगाईएका सटरका सामान भने भत्काउने क्रममा यत्रतत्र छरिएका थिए।